Sagun Khabar
डिभिजन वन कार्यालय बैतडीद्वारा वन डढेलो रोकथामसम्बन्धी सुरक्षा निकायसँग समन्वय गोष्ठी सम्पन्न

बैतडी – वन डढेलो नियन्त्रण तथा रोकथामका उपायबारे छलफल गर्न डिभिजन वन कार्यालय बैतडीको आयोजनामा समन्वय गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको प्रमुख आतिथ्यतामा सुरक्षा निकाय, स्थानीय प्रशासन, सामुदायिक वन प्रतिनिधि, सरोकारवाला निकायका व्यक्तित्व तथा अन्य सम्बन्धित पक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा डिभिजन वन कार्यालयले आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ। प्रमुख जिल्ला अधिकारी उपाध्यायले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई कुल १५० थान अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेका छन्। हस्तान्तरण गरिएका सामग्रीमा फायर र्याग, फायर स्वाटर, सेफ्टी ग्लोब, सेफ्टी हेल्मेट लगायतका उपकरण समावेश छन्।

Atrya hospital

डिभिजन वन कार्यालयका प्रमुख भरत प्रसाद भट्टले वन डढेलो नियन्त्रण र रोकथामका लागि आवश्यक समन्वय र पूर्वतयारी अनिवार्य रहेको औंल्याए। वन डढेलोको असर नकारात्मक रूपमा पारिसकेको तथा यसको रोकथाममा सामूहिक प्रयास आवश्यक भएको उनले उल्लेख गरे।

डिभिजन वन अधिकृत नरेश चन्द्र कर्नका अनुसार विगतका वर्षहरूमा बैतडी जिल्लामा वन डढेलोका घटनाहरू दोहोरिनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्‍याएको तथ्यांक छ। यसै कारण सुरक्षा निकायसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै आगलागी नियन्त्रण र द्रुत प्रतिकार्यका उपाय अपनाउन यो गोष्ठी आयोजना गरिएको हो।

वन डढेलोको समस्याले नेपालका वन तथा जैविक विविधतामा गम्भीर असर पारिरहेको छ। डिभिजन वन कार्यालय बैतडीद्वारा गरिएको यस प्रकारको समन्वय गोष्ठी तथा उपकरण हस्तान्तरण कार्यक्रम वन डढेलो रोकथामको प्रयासमा सकारात्मक कदम सावित हुन सक्छ। तथापि, दीर्घकालीन रूपमा प्रभावकारी नीति, स्थानीय संलग्नता तथा प्रविधिको प्रयोगमार्फत वन संरक्षण अभियानलाई अझ बलियो बनाउनु आवश्यक देखिन्छ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update