Sagun Khabar
बैतडीको पाटनमा सहरी गाउघर क्लिनिकः १६३ जनाले लिए सेवा
Atrya hospital

बैतडी-बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमबाट १६३ जनाले सेवा लिएका छन्। उक्त कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मेलौली बैतडीको आयोजनामा सञ्चालन गरिएको हो।

प्रत्येक महिनाको १० गते नियमित रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम आइतबार पनि जारी रह्यो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मेलौलीका प्रमुख हिकमत चन्दका अनुसार आइतबार सम्पन्न शिविरमा १०२ महिला र ६१ पुरुषले सेवा लिएका छन्।
 
पाटन क्षेत्रमा आयुर्वेदिक स्वास्थ्य सेवा पहुँचविहीन रहेकाले चार महिनाअघि देखि प्रत्येक महिनाको १० गते यो कार्यक्रम सञ्चालन हुँदै आएको हो। यस शिविरको उद्देश्य आयुर्वेदिक सेवाको प्रवर्धन, नसर्ने रोगको पहिचान तथा उपचारमा सहयोग पुर्‍याउनु रहेको प्रमुख चन्दले जानकारी दिए।

आईतबार सम्पन्न कार्यक्रममा विभिन्न नसर्ने रोगका बिरामीहरूले सेवा लिए, जसअनुसार उच्च रक्तचापका ३५ जना,बाथ (गठिया)का ३० जना,अम्लपित्त (ग्यास्ट्रिक)का २६ जना,मधुमेह (डायबेटिज)का १० जना,पाइल्सका १९ जना,पथ्थरीका ५ जना,दमका १६ जना,मोटोपनका ११ जनाले सेवालिएका थिए । 
 
गत पुष महिनादेखि सञ्चालन हुँदै आएको यो कार्यक्रम आगामी असारसम्म निरन्तर सञ्चालन गरिने प्रमुख चन्दले बताए। आयुर्वेदिक सेवा र नसर्ने रोग व्यवस्थापनमा सहरी गाउघर क्लिनिक प्रभावकारी बन्दै गएको स्वास्थ्यकर्मीहरूको दाबी छ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update