Sagun Khabar
बैतडीमा १ सय २ जना क्षयरोगका बिरामी उपचारमा 

बैतडी–बैतडीमा १ सय २ जना क्षयरोगका बिरामी नियमित उपचारमा रहेका छन् । ९८ जना पुराना र चार जना यो बर्ष पत्ता लागेका नयाँ बिरामी गरेर १ सय २ जना उपचारमा रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए । 

विश्व क्षयरोग दिवसको अवसरमा पारेर सोमबार स्वास्थ्य कार्यालयमा आयोजना गरिएको अन्तरक्रियामा गत बर्ष क्षयरोगका कारण ११ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।यस्तै चालु आर्थिक बर्षको अहिलेसम्म २ जना क्षयरोगका बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

Atrya hospital

समुदायमा अझै पनि क्षयरोगका बिरामीहरु रहेका तर उनीहरुलाई उपचारको दायरमा ल्याउन समस्या रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीहरु लक्ष्य अनुसार अझै उपचारमा आएका छैनन् । समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गर्दछ ।
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update