
बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा क्षयरोगका बिरामीहरुको खोजीका लागि शिविर सञ्चालन हुने भएको छ । यही चैत १३ गतेदेखि १७ गतेसम्म पालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा शिविर सञ्चालनको तयारी भएको क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द्र जोशीले जानकारी दिए ।
स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोग र सुर्नया गाउँपालिकाको आयोजनामा शिविर सञ्चालनको तयारी भएको हो । शिविरमा एआइ जडित डिजिटल एक्सरेमार्फत सम्भावित लक्षण तथा चिन्ह भएका व्यक्तिहरुको एक्सरे गरिने जोशीले बताए ।
समुदायमा रहेका बिरामीहरुको खोजीका लागि शिविरमार्फत सेवा दिने तयारी भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
चैत १३ गते वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने चैत १४ गते रौलेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने जोशीले बताए । यस्तै चैत १५ गते भौनेली स्वास्थ्यचौकी, चैत १६ गते वासुलिङ्ग स्वास्थ्यचौकी र चैत १७ गते सतबाँझ सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन हुने जोशीले बताए ।
सुर्नया गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउनका लागि गतबर्षदेखि कार्यक्रम सञ्चालनमा रहेको छ । गत बर्ष १५ जना क्षयरोगका बिरामी पत्ता लागेकोमा उनीहरुपचि उपचार निको भइसकेका जोशीले जानकारी दिए ।
चालु आर्थिक बर्षको हालसम्म पालिकाभरी ८ जना क्षयरोगका नयाँ बिरामी पत्ता लागेका र ती मध्ये ३ जना उपचारपछि निको भइसकेका छन् । पाँच जना अहिले उपचारमा रहेका बताइएको छ ।
सुर्नयामा क्षयरोगमुक्त अभियान अन्तर्गत आठओटै वडामा स्वयंसेवक परिचालन गरिएको अभियान संयोजक जोशीले बताए । क्षयरोगमुक्त पालिका बनाउने अभियानकै लागि शिविर सञ्चालन गर्ने तयारी भएकाले सेवा लिनका लागि आग्रह गरिएको उनले बताए ।