
डोटी– डोटीको सायल गाउँपालिका–६ स्वाडामा भालुको आक्रमणबाट एक दम्पती घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ६० वर्षीय करी साउद र उनकी ५५ वर्षीया श्रीमती दुर्गा साउद सोमबार राति भालुको आक्रमणमा परेका हुन्।
स्थानीय सौडीखेतस्थित खर्क (गोठ) मा रहेका बेला उनीहरूलाई भालुले आक्रमण गरेको थियो। घटनामा श्रीमान्–श्रीमती दुबै गम्भीर रूपमा घाइते भएका छन्। प्रहरीले दिएको जानकारीअनुसार उनीहरूको अनुहार तथा शरीरभरि गहिरो चोट लागेको छ।
घटनापछि स्थानीयवासी र परिवारका सदस्यहरूको सहयोगमा घाइते दम्पतीलाई प्राथमिक उपचारका लागि सिलगढी लगिएको छ। चिकित्सकहरूले उनीहरूको स्वास्थ्य स्थिति गम्भीर रहेको बताउँदै आवश्यक उपचार भइरहेको जानकारी दिएका छन्।
स्थानीय प्रशासनले वन्यजन्तु आक्रमणका घटनाप्रति सचेत रहन आग्रह गर्दै, जोखिमपूर्ण क्षेत्रहरूमा सुरक्षाका उपाय अपनाउन नागरिकहरूलाई सचेत गराएको छ।