
बैतडी-बैतडीको सुर्नया गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमिकहरुलाई सुरक्षा सामग्री र हाते औजार हस्तान्तरण गरेको छ ।
गाउँपालिकामा मंगलबार श्रमको सम्मान सुर्नयाको अभियान कार्यक्रमको आयोजना गरेर कार्यक्रममा आवद्ध ४० जना श्रमिकहरुलाई सुरक्षा सामग्री र हाते औजार हस्तान्तरण गरिएको गाउँपालिकाका रोजगार संयोजक सुरेन्द्र धामीले बताए ।
चालु आर्थिक बर्षमा सुर्नया गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक सय दिने रोजगारीका लागि प्रत्येक वडाबाट ५÷५ जनालाई छनौट गरिएको छ ।
छनौट भएका श्रमिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको बारेमा जानकारी समेत दिइएको छ । अनौपचारिक क्षेत्र र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुको कार्यक्रमले केही हदसम्म सुरक्षा गर्ने र उनीहरुलाई दीर्घकालिन रोजगारीमा आवद्ध हुन सहयोग पुग्ने संयोजक धामीले बताए । कार्यक्रमले श्रमिकहरुलाई विभेदरहित वातावरण सिर्जना गर्ने विश्वास समेत गरिएको छ ।
कामदारहरुको सुरक्षाका लागि सुरक्षा सामग्री र उनीहरुलाई काम गर्दा आवश्यक पर्ने औजारहरु हस्तान्तरण गरिएको रोजगार शाखाका प्राविधिक लोकेश बिष्टले बताए ।
सामग्री तथा औजार हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले सरकारी लगानीको सदुपयोग गर्न आग्रह गरे । आफूसंग भएको सीप र क्षमतालाई भरपूर रुपमा प्रयोग गर्न समेत उनले आग्रह गरे ।
श्रमको सम्मान सुर्नयाको अभियान नाराका साथ प्रधानमन्त्री रोजगारका कार्यक्रमलाई कार्यान्वयनमा लैजाने तयारी भएको भन्दै अध्यक्ष कुँवरले आफ्नो ठाउँमा उत्कृष्ट बनाउन आग्रह गरे ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले प्रधानमन्त्री रोजगार कार्यक्रमले केही हदसम्म भएपनि बेरोजगारी समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन् ।
सुरक्षा सामग्री तथा औजार हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र श्रमिकहरुको सहभागिता थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुने श्रमिकहरुलाई प्रतिदिन ६ सय ६८ रुपैयाँका दरले ज्याला उपलब्ध गराइने बताइएको छ ।