Sagun Khabar
बैतडीमा भूमिहीनका समस्या समाधानका लागि अभिमुखिकरण कार्यक्रम हुने

बैतडी – भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूको समस्या समाधानका लागि भूमि समस्या समाधान आयोग बैतडीले अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ। कार्यक्रम आगामी चैत १८ गते पाटनमा आयोजना गरिने छ।

भूमि समस्या समाधान प्रक्रियालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखा प्रमुखहरूका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो। भूमि समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेशदत्त पाण्डेयका अनुसार उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा प्रमुख अतिथि रहनेछन्।

Atrya hospital

 भूमि समस्या समाधान आयोगको जिल्ला समितिले पूर्णता पाएसँगै जिल्लामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूले राहत पाउने अपेक्षा गरिएको छ। वर्षौंसम्म जग्गाको अधिकार नपाएका नागरिकहरू सरकारले समस्या समाधानमा चासो नदेखाएको भन्दै गुनासो गर्दै आएका छन्। आयोगका अध्यक्ष पाण्डेयले भने यसपटक नतिजामुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, मंगलबार महिला सदस्य सरस्वती जोशीको नियुक्तिसँगै भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडी पूर्ण बनेको छ। अध्यक्ष रमेश पाण्डेयले जोशीलाई शपथ ग्रहण गराएपछि समिति पूर्णरूपमा सक्रिय भएको हो।

आयोगले भूमिहीन तथा सुकुम्बासी नागरिकहरूको समस्या पहिचान गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ। यसका लागि स्थानीय तह, प्रदेश सरकार तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने बताइएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update