Sagun Khabar
सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि ३१ लाखभन्दा बढी लागतमा ल्यापटप खरिद हुँदै

धनगढी – सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूका लागि ३१ लाख ८२ हजार ६४५ रुपैयाँ लागतमा नयाँ ल्यापटप खरिद गर्ने भएको छ। सचिवालयले ४३ जना प्रदेश सभा सदस्यलाई प्रविधिमैत्री बनाउन तथा काम कारबाहीलाई सहज बनाउन ल्यापटप वितरण गर्न लागेको हो।

प्रदेश सभा सचिवालयले माघ १५ गते ल्यापटप खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। प्राप्त आठ वटा प्रस्तावमध्ये सबैभन्दा कम मूल्य कबोल गर्ने धनगढीस्थित उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट गरिएको छ। फर्मले मूल्य अभिवृद्धि करसहित ३१ लाख ८२ हजार ६४५ रुपैयाँमा ४३ थान लेनेभो आई–५ एसेसोरिजयुक्त ल्यापटप उपलब्ध गराउने भएको छ।

Atrya hospital

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद प्रक्रिया अघि बढ्नेछ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य छन्। तीमध्ये १० जना मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री पदमा भएकाले प्रदेश सभा सचिवालयले बाँकी ४३ जना सदस्यलाई मात्र नयाँ ल्यापटप वितरण गर्ने निर्णय गरेको हो।

यसअघि, अघिल्लो प्रदेश सभाका सदस्यहरूलाई पनि ल्यापटप वितरण गरिएको थियो। सचिवालयले लेनेभो आई–३ एसेसोरिजयुक्त ४६ थान ल्यापटप खरिद गरी वितरण गरेको थियो। तर, ती ल्यापटपहरू अहिले नचल्ने अवस्थामा पुगेको तथा कतिपय सदस्यहरूले फिर्ता नगरेको सचिवालयले जनाएको छ।

सूचना अधिकारी जैसीका अनुसार अघिल्लो कार्यकालमा वितरण गरिएका ल्यापटपमध्ये १२ वटा अझै फिर्ता भएका छैनन्। प्रदेश सभाले ती ल्यापटपहरू फिर्ता गर्न आग्रह गरे पनि केही सदस्यहरूले अझै नबुझाएको जनाइएको छ।

प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिदलाई पारदर्शी र प्रभावकारी बनाउन आवश्यक प्रक्रिया पूरा गरिसकेको जनाएको छ। ल्यापटप वितरणपछि प्रदेश सभा सदस्यहरूको कार्यसम्पादन प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update