Sagun Khabar
क्षयरोगमुक्त अभियान : बैतडीको सुर्नयामा खोजपड्ताल शिविर शुरु 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा क्षयरोगका बिरामीहरुको खोजीका लागि बुधबारदेखि खोजपड्ताल शिविर शुरु भएको छ । 

आज वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकीबाट शिविरको शुरुवात गरिएको गाउँपालिकाका क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द्र जोशीले जानकारी दिए । 

स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोग र सुर्नया गाउँपालिकाको आयोजनामा शिविर सञ्चाल गरिएको हो । शिविरमा एआइ जडित डिजिटल एक्सरेमार्फत सम्भावित लक्षण तथा चिन्ह भएका व्यक्तिहरुको एक्सरे गर्ने गरिएको जोशीले बताए । आज पहिलो दिन ४८ जना महिला र २४ जना पुरुषको छातीको एक्सरे गर्दा १० जनाको छातीमा दाग देखिएको छ । 

Atrya hospital

एक्सरे गर्दा दाग देखिएका दश जनाको खकार संकलन गरेर जिन एक्सपर्टका लागि जिल्ला अस्पताल पठाइएको जोशीले बताए । जिल्ला अस्पतालको प्रयोगशालामा खकार जाँच भएपछि उनीहरुमा क्षयरोग भए ÷नभएको पत्ता लाग्ने उनले बताए । 

समुदायमा रहेका क्षयरोगका बिरामीहरुको खोजीका लागि शिविरमार्फत सेवा दिने काम भइरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

बिहीबार रौलेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने जोशीले बताए । यस्तै चैत १५ गते भौनेली स्वास्थ्यचौकी, चैत १६ गते वासुलिङ्ग स्वास्थ्यचौकी र चैत १७ गते सतबाँझ सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन हुने जोशीले बताए । 

सुर्नया गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउनका लागि गतबर्षदेखि कार्यक्रम सञ्चालनमा रहेको छ । गत बर्ष १५ जना क्षयरोगका बिरामी पत्ता लागेकोमा उनीहरु उपचार पछि निको भइसकेका जोशीले जानकारी दिए । 

चालु आर्थिक बर्षको हालसम्म पालिकाभरी ८ जना क्षयरोगका नयाँ बिरामी पत्ता लागेका र ती मध्ये ३ जना उपचारपछि निको भइसकेका छन् । पाँच जना अहिले उपचारमा रहेका बताइएको छ । 

सुर्नयामा क्षयरोगमुक्त अभियान अन्तर्गत आठओटै वडामा स्वयंसेवक परिचालन गरिएको अभियान संयोजक जोशीले बताए । क्षयरोगमुक्त पालिका बनाउने अभियानकै लागि शिविर सञ्चालन भइरहेकाले सेवा लिनका लागि सबैलाई आग्रह गरिएको संयोजक जोशीले बताए । 

गाउँघरकै स्वास्थ्यचौकीमा एआइ जडित डिजिटल एक्सरेमार्फत छातीको चेकजाँच भइरहेकाले सेवा लिन सबैलाई आग्रह गरिएको छ । दुर्गम क्षेत्रका नागरिकको उपचारमा पहुँच पुर्याएको क्षयरोग उन्मूलन गर्ने लक्ष्य रहेको जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update