
बैतडी –एशिया–प्रशान्त क्षेत्रका विभिन्न देशहरूको शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानको प्रगति र सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था अपाइमा पहिलो पटक नेपालले सहभागिता जनाएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा गएको सोमबारदेखि सञ्चालन भएको अपाइ सम्मेलनमा पहिलो पटक नेपालको सहभागिता रहेको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए ।
एसीया–प्रशान्त क्षेत्रका विश्वविद्यालयहरुको सहभागिता रहेको उक्त सम्मेलनमा नेपालकातर्फबाट सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।
भोलि सम्म सञ्चालन हुने सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा डा राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक राजेन्द्र प्रसाद जोशी, सुदूरपश्चिम विश्वविद्यालय टिकापूर बहुमुखी क्याम्पसका डा ज्ञानु राज पौडेल र सुदूरपश्चिम विश्वविद्यालय जगन्नाथ बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं उपप्राध्यापक पृथ्वीराज अवस्थीको सहभागिता छ ।
उक्त सम्मेलन तथा प्रदर्शनीमा ६० भन्दा बढी देशका २ हजार ५ सय सहभागीहरुका बीचमा उच्च शिक्षामा विश्वव्यापीकरणको महत्व, समस्या र भावी रणनीति सम्बन्धि समूह छलफल, प्यानल छलफल र मुख्य वक्ताहरुबाट गहन विचारहरु प्रस्तुत गर्ने काम भइरहेको उपप्राध्यापक अवस्थीले बताए ।
उक्त सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो प्रर्दशनी कक्ष स्थापना गरि विश्वविद्यालयका गतिविधि, कार्यक्रम, अनुसन्धान प्रगती तथा विभिन्न जानकारीमूलक सूचना भएका ब्यानर, ब्रुसेट, जर्नल, तथा अन्य सामग्रीहरूसहित सहभागीहरुलाई विश्वविद्यालयका बारेमा जानकारी दिने काम भइरहेको अवस्थीले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयलाई विश्वमा चिनाउने यो पहिलो अन्तराष्ट्रिय प्रदर्शनी भएकाले यसले विश्वविद्यालयलाई विश्व सामू चिनाउन सहयोग पुगेको विश्वविद्यालयका डीन भट्टले बताए ।
सम्मेलनको सहभागिताले विश्व्यापी शिक्षाको अभ्यास, संस्कृति, ज्ञानसीप लगायतका बिषयमा विचार विमर्श गर्न सहज भएको सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक राजेन्द्रप्रसाद जोशीले बताए ।
यस्तै सम्मेलनमा सहभागी सुदूरपश्चिम विश्वविद्यालयका उपप्रधाध्यापक डा ज्ञानुराज पौडेलले अपाइ सम्मेलनले विश्वको उच्च शिक्षामा एकरुपता ल्याउन निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । विश्व परिवेशका प्राध्यापक र विद्यार्थीहरुका अनुसन्धान र अध्ययन अध्यापनका कार्यहरुमा विशेष समन्वय र एकरुपता ल्याउन, नीति र कार्यक्रममा एकरुपता ल्याउन सहयोग पुग्ने बताए ।