
बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका–६,पन्ज्युनयाँस्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।
देश तथा विदेशमा रहेका श्रद्धालुहरुबाट चन्दा संकलन गरेर उक्त मूर्ती निर्माण गरिएको राममूर्ती निर्माण समितिका अध्यक्ष बिरसिंह कार्कीले जानकारी दिए । मूर्ती निर्माणका लागि ५ लाख रुपैयाँ चन्दा संकलन भएको उनले बताए । उनले भने, ‘यो क्षेत्रमा पुरानो राम मन्दिर रहेको छ । जमाडी र चौलानी नदीको संगम नजिकै रहेको मन्दिरमा हामीले चन्दा संकलन गरेर २१ फिट अग्लो राममूर्ती निर्माण गरेका छौं ।’
राम मन्दिर परिसरमा निर्माण गरिएको राममूर्तीको रामनवमीका दिन प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । यही चैत २४ गतेका दिन पर्ने रामनवमी दिन मूर्तीको औपाचारिक उद्दघाटन गरिने अध्यक्ष कार्कीले बताए ।
हरेक बर्ष रामनवमीका दिन पञ्ज्यूनयाँस्थित राममन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । यो मन्दिरमा बैतडीसहित सीमावर्ती दार्चुलाका दर्शनार्थीहरुको समेत सहभागिता रहने गरेको पाइन्छ । यसका साथै सुदूरपश्चिमका अन्य जिल्लाहरुबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको स्थानीय भानसिंह कार्कीले बताए ।
पञ्ज्यूनयाँस्थित राममन्दिर पुरानो मन्दिर रहेको र यसको बारेमा स्कन्द पुराणमा समेत उल्लेख गरेको संस्कृतिका जानकारहरुले दाबी गरेका छन् । जमाडी र चौलानी नदीको संगममा रहेको मन्दिर धार्मिक रुपले निकै महत्वपूर्ण रहेको कार्कीले बताए ।
राम मन्दिर परिसरमा निकट भविष्यमा होमकुण्ड पनि निर्माण गर्ने योजना रहेको समितिका अध्यक्ष कार्कीले बताए । राममन्दिर क्षेत्र परिसर फराकिलो गर्न स्थानीय बलदेवसिंह कार्की, कृष्णसिंह कार्की, भानसिंह कार्की र गणेशसिंह कार्कीले जग्गादान गरेका छन् ।
उक्त राम मन्दिरमा विवाह,ब्रतबन्धजस्ता धार्मिक कार्यहरु गरिँदै आएका छन् ।