
कैलाली –कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया गरिएको छ ।
धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ बर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो । ती बिरामीलाई सेती प्रादेशिक अस्पताल धनगढीबाट रेफर गरिएको थियो । गेटा गिरीको घुँडाको एसिएल इन्जुरीको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।
अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा.मोहन नाथ र मोहनचन्द्र जोशी तथा एनेस्थेसिया विशेषज्ञ डा.आशीष तिवारी र ओटी नर्सहरु रोशिना शाही, रेबिका बिष्टको समूहले दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको सूचना अधिकारी कार्कीले बताए ।
सेती प्रादेशिक अस्पतालबाट रेफर गरेपछि कता गएर उपचार गर्ने भन्ने अन्यौल भइरहेकाले बेला गेटामा त्यो उपचार सम्भव भएको जानकारी पाएपछि गेटामै उपचार गराएको गिरीले बताए ।
गिरी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न डा. नाथका अनुसार गेटामा पहिलो पटक नचिरेर गरिने उपचार विधि (आप्रोस्कोपिक लिगामेन्ट रिकन्स्ट्रक्सन) गरिएको हो । जुन लिगामेन्टहरुको इन्जुरीको निदान तथा उपचारको आधुनिक पद्दति हो ।
मेडिकल कलेज सञ्चानलको उद्देश्यसहित करिब सात अर्बका संरचना तयार रहेको गेटामा सरकारले हाल ५० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ ।