
बैतडी –पछिल्लो समयमा विकास निर्माणका कामहरुमा महिलाको सहभागिता बढ्दै गएको छ । चुलोचौकोमा सीमित रहेका महिलाहरु पछिल्लो समयमा विकास निर्माणको काममा नेतृत्व लिएर अगाडि बढीरहेका छन् ।
सुर्नया गाउँपालिका वडा नं –६ धुलिधारमा महिलाकै नेतृत्वमा उपभोक्ता समिति गठन गरेर गाउँघर क्लिनिक भवन निर्माणको काम भइरहेको छ । बिष्ना अवस्थीको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले अघि बढाएको काममा अधिकांश महिलाहरुकै सहभागिता रहेको छ ।
गाउँघर क्लिनिक भवन निर्माणको काममा गाउँका अधिकांश महिलाहरुको सहभागिता रहेको उपभोक्ता समितिका सचिव कृष्णदत्त अवस्थीले बताए । पछिल्लो समयमा विकास निर्माणका कामहरु महिलाको सहभागिता बढ्दै गएको उनले बताए ।
महिलाहरु घरायसी काममा मात्रै नभएर विकास निर्माणका काममा समेत जुटेका अवस्थीले बताए । उनले भने,‘महिलाको नेतृत्वमा भएका विकास निर्माणका कामहरु तुलनात्मक रुपमा दिगो हुने गरेका छन् । यसले उनीहरुको आर्थिक उपार्जनमा समेत सहयोग पुग्छ ।’
उपभोक्ता समितिको नेतृत्व गरेर विकास निर्माणको काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उपभोक्ता समिति अध्यक्ष बिष्ना अवस्थीले बताइन् । समितिको नेतृत्व गर्दा वडादेखि गाउँपालिकासम्म जान पाइएको र सरकारी कामकाजको बिषयमा जानकारी भएको उनले बताइन् । उनले भनिन् ‘हामीले आफ्नै गाउँमा विकास निर्माणको काममा सहभागिता जनाउन पाएका छौं । थोरै भएपनि आयआर्जन हुन्छ । यसले नेतृत्व विकासमा सहयोग पुग्छ ।’
चालु आर्थिक बर्षमा वडाले वडा नं ६ को धुलिधारमा गाउँघर क्लिनिक भवन निर्माणको काम गरिरहेको र उपभोक्ता समितिमा महिलाको नेतृत्व रहेको वडा अध्यक्ष मदनराज अवस्थीले बताए । महिलाको नेतृत्वमा रहेको उपभोक्ता समितिले राम्रो काम गर्ने आफूहरुको अपेक्षा रहेको उनले बताए ।
उपभोक्ता समितिको नेतृत्वमार्फत महिलाहरुको क्षमताको विकास हुने र उनीहरुलाई आयआर्जनमा समेत सहयोग पुग्ने वडा अध्यक्ष अवस्थीले बताए । तीन लाखको लागतमा गाउँघर क्लिनिक भवन निर्माण भइरहेको उनले बताए ।
गाउँघरमा हुने विकास निर्माणका काममा सहभागिता जनाउन पाउँदा महिलाहरु खुसी भएका छन् । गाउँघर क्लिनिक भवन निर्माणको कामले आयआर्जनमा केही टेवा पुग्ने स्थानीय कमला अवस्थीले बताइन् । यसका साथै घरायसी काममात्रै नभएर विकास निर्माणका काममा पनि महिलाहरुको सहभागिता बढेको उनले बताइन् ।