Sagun Khabar
सुर्नयामा क्षयरोगमुक्त अभियान : रौलेश्वर स्वास्थ्यचौकीमा शिविर सम्पन्न 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त अभियान अन्तर्गत वडा नं ५ स्थित रौलेश्वर स्वास्थ्यचौकीमा खोजपड्ताल शिविर सम्पन्न गरिएको छ । 

एआइ जडित डिजिटल एक्सरेबाट नागरिकको स्वास्थ्य चेकजाँच गर्ने गरिएको क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द जोशीले जानकारी दिए । रौलेश्वर स्वास्थ्यचौकीमा बिहीबार सञ्चालन गरिएको शिविरमा १ सय ५३ जना महिला र ७५ जना पुरुष गरेर २ सय २८ जनाको छातीको एक्सरे गरिएको संयोजक जोशीले बताए । 

२ सय २८ जना मध्ये १३ जनामा छातीमा दाग देखिएकाले उनीहरुको खकार संकलन गरेर थप परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको उनले बताए । जिल्ला अस्पतालको प्रयोगशालामा चेकजाँचपछि उनीहरुमा क्षयरोग भए ÷नभएको बारेमा जानकारी हुने जोशीले बताए । 

Atrya hospital

यसअघि बुधबार शिखरपुर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा ४८ जना महिला र २४ जना पुरुषको छातीको एक्सरे गर्दा १० जनाको छातीमा दाग देखिएको थियो ।  

एक्सरे गर्दा दाग देखिएका दश जनाको खकार संकलन गरेर जिन एक्सपर्टका लागि जिल्ला अस्पताल पठाइएको जोशीले बताए । 

समुदायमा रहेका क्षयरोगका बिरामीहरुको खोजीका लागि शिविरमार्फत सेवा दिने काम भइरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

शुक्रबार भौनेली स्वास्थ्यचौकीमा शिविरको आयोजना हुनेछ भने शनिबार वासुलिङ्ग स्वास्थ्यचौकी र आइतबार सतबाँझ सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन हुने जोशीले बताए । 

सुर्नया गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउनका लागि गतबर्षदेखि कार्यक्रम सञ्चालनमा रहेको छ । गत बर्ष १५ जना क्षयरोगका बिरामी पत्ता लागेकोमा उनीहरु उपचार पछि निको भइसकेका जोशीले जानकारी दिए । 

चालु आर्थिक बर्षको हालसम्म पालिकाभरी ८ जना क्षयरोगका नयाँ बिरामी पत्ता लागेका र ती मध्ये ३ जना उपचारपछि निको भइसकेका छन् । पाँच जना अहिले उपचारमा रहेका बताइएको छ । 

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीहरु लक्ष्य अनुसार अझै उपचारमा आएका छैनन् । 

लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गर्दछ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update