
बैतडी–नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीको अध्यक्षमा पुष्कर धानुक (सौकार) सर्वसम्मत चयन भएका छन् । संघको पुर्चौंडीमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले धानुकको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा महेशराज जोशी,महिला उपाध्यक्षमा ललिता चन्द, सचिवमा प्रेम चन्द, सहसचिवमा उमेश भट्ट, कोषाध्यक्षमा घनश्याम धामी लगायत अन्य सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन् ।
यसअघि तदर्थ समितिको अध्यक्ष रहेका धानुकको नेतृत्वमा नेपाल लोकतान्त्रिक खेलकुद संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संघले खेलकुदका गतिविधिहरुलाई अगाडि बढाउने अध्यक्ष धानुकले बताए ।
जिल्ला अधिवेशनपछि पालिकाहरुमा समेत अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने र जिल्लाभरी संघको संगठन विस्तार गरिने अध्यक्ष धानुकले बताए । अहिले पालिका र क्षेत्रीय समितिका संयोजकहरु तोकिएको उनले बताए ।
धानुकको अध्यक्षतामा भएको अधिवेशन उद्दघाटन सत्रमा पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बम प्रमुख अतिथी रहेका थिए । उक्त अधिवेशनमा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं २ का क्षेत्रीय सचिव गणेश बिष्ट बिशिष्ट अतिथी रहेका थिए ।
अधिवेशन उद्दघाटन सत्रमा पुर्चौंडी नगरपालिकाका प्रवक्ता धिरेन्द्र बम, वडा नं १ का वडा अध्यक्ष गणेश गडाल, वडा नं २ का वडा अध्यक्ष चक्रबहादुर बम,पुर्चौंडी नगर खेलकुद विकास समितिका अध्यक्ष अमिर ओड लगायत नेपाल लोकतान्त्रिक खेलकुद संघमा आवद्ध सदस्य, नेपाली कांग्रेसका नेता–कार्यकर्ता र शुभेच्छुक तथा भातृसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अधिवेनशन उद्दघाटन सत्रमा बोल्दै पुर्चौडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले नगरपालिकाबाट खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । आगामी दिनमा समेत खेलकुदका गतिविधिलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।