
बैतडी –स्वास्थ्य कार्यालय बैतडीले सार्वजनिक सरोकारका सूचना प्रवाहमा सहजता ल्याएको छ । कार्यालयमार्फत सम्पादन हुने र कार्यालयका सूचनाहरुलाई प्रवाह गर्न विभिन्न विधि अपनाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले बताए ।
स्वास्थ्य कार्यालयले पछिल्लो समयमा कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक सूचना प्रवाह गर्दै आएको सूचना अधिकारी लेखकले बताए । यसअघि नै सञ्चारकर्मीहरुसहितको मेसेन्जर ग्रुप बनाएर सूचना आदान–प्रदान गर्दै आएको कार्यालयले फेसबुकमार्फत समेत सूचना आदान प्रदान भइरहेको उनले बताए ।
सूचनाको हक सम्बन्धी ऐन अनुसार हरेक कार्यालयमा सूचना आदानप्रदानका लागि सूचना अधिकारीको व्यवस्था गरिएको हुन्छ । कार्यालयका सूचनाहरुलाई सकेसम्म छिटो सम्बन्धित निकायमा पुगोस भनेर आफूहरुले प्रविधिको प्रयोग गरेको स्वास्थ्य कार्यालयका प्रमुख तिर्थराज भट्टले बताए । उनले भने,‘हामीले कार्यालयका सार्वजनिक सरोकारका सूचनाहरु सकेसम्म छिटो प्रदान गर्ने व्यवस्था गरेका छौं । हाम्रो कार्यालयका सूचना अधिकारीले पनि यसलाई व्यवस्थित बनाएर लैजानु भएको छ । सूचनाबाट कोही पनि वञ्चित नहोस भन्ने हाम्रो मान्यता रहेको छ ।’
स्वास्थ्य कार्यालय सम्पादन गर्ने हरेक गतिविधिहरुलाई आमनागरिक सामू पुर्याउन मासिक रुपमा बुलेटिन समेत प्रकाशन गर्दै आएको सूचना अधिकारी लेखकले बताए । कार्यालयले मासिक रुपमा सम्पादन गरेका काम र आगामी महिना गर्ने कामको कार्ययोजना समेत मासिक बुलेटिनमा समेट्ने गरेको उनले बताए । उनले भने, ‘हामीले हाम्रो कार्यालयमार्फत सम्पादन हुने कामका बारेमा आमनागरिकलाई जानकारी होस भनेर सामाजिक सञ्जालमार्फत पनि सूचना आदानप्रदान गर्ने गरेका छौं । सञ्चारकर्मीहरुबीच अन्तरक्रिया गरेर सूचना आदानप्रदान गर्दै आएका छौं ।’
स्वास्थ्य कार्यालयले सार्वजनिक सरोकारका सूचना आदान–प्रदानमा सहजता ल्याएको नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडूले बताए । सूचना अधिकारीमार्फत कार्यालयका सूचना सञ्चारकर्मीहरुले निरन्तर रुपमा पाइराखेको उनले बताए । स्वास्थ्य कार्यालयजस्तै सूचना प्रवाहमा अन्य कार्यालयले पनि सहजता ल्याउनुपर्नेमा उनले जोड दिए ।