
बैतडी –बैतडीको सुर्नया गाउँपालिका–६ धुलिधारमा गाउँघर क्लिनिक भवन निर्माणका लागि एकजना स्थानीयले जमीन दान गरेका छन् ।
स्वर्गीय मनिदत्त अवस्थीका नाती, नन्दराम अवस्थीका छोरा केशवराज अवस्थीले गाउँघर क्लिनिक भवन निर्माणका लागि जमीन दान गरेका हुन् ।
वडा कार्यालयले गाउँघर क्लिनिक भवन निर्माणका लागि बजेट छुट्याएको र भवन निर्माणका लागि सार्वजनिक जमीन नहुँदा आफूले जग्गादान गरेको उनले बताए । भवन निर्माणका लागि आवश्यक पर्ने जमीन दान गरेको उनको भनाइ छ ।
अवस्थीले दान गरेको जमीनमा भवन निर्माणको काम शुरु भइसकेको उपभोक्ता समिति अध्यक्ष बिष्ना अवस्थीले बताइन् । गाउँघर क्लिनिकको एक कोठे भवन निर्माणको काम भइरहेको उनले बताइन् ।
अवस्थीले जमीन दान गरेपछि भवन निर्माणको काम अघि बढेको भन्दै वडा अध्यक्ष मदनराज अवस्थीले धन्यवाद ज्ञापन गरे ।
सार्वजनिक भवन निर्माणका लागि छोराले जमीन दान गरेकोमा आफूलाई निकै खुसी लागेको स्थानीय नन्दराम अवस्थीले बताए ।
सुर्नया गाउँपालिका–६ को धुलिधारमा स्वास्थ्यको अन्य संरचना नभएको र स्वास्थ्यचौकीबाट टाढा भएकाले गाउँघर क्लिनिक भवन निर्माणको काम भइरहेको वडा अध्यक्ष अवस्थीले बताए ।