
बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त अभियान अन्तर्गत वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकीमा खोजपड्ताल शिविर सम्पन्न गरिएको छ ।
एआइ जडित डिजिटल एक्सरेबाट नागरिकको स्वास्थ्य चेकजाँच गर्ने गरिएको क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द जोशीले जानकारी दिए ।
भौनेली स्वास्थ्यचौकीमा शुक्रबार सञ्चालन गरिएको शिविरमा ६१ महिला र १६ जना पुरुष गरेर ७७ जनाको छातीको एक्सरे गरिएको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । ती मध्ये १६ जनाको छातीमा दाग देखिएकाले उनीहरुको खकार संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पतालको प्रयोगशालामा पठाइएको छ ।
यसअघि रौलेश्वर स्वास्थ्यचौकीमा बिहीबार सञ्चालन गरिएको शिविरमा १ सय ५३ जना महिला र ७५ जना पुरुष गरेर २ सय २८ जनाको छातीको एक्सरे गरिएको थियो । ती मध्ये १३ जनाको खकार संकलन गरिएको थियो ।
यस्तै बुधबार शिखरपुर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा ४८ जना महिला र २४ जना पुरुषको छातीको एक्सरे गर्दा १० जनाको छातीमा दाग देखिएको थियो ।
छातीको एक्सरे गर्दा छातीमा दाग देखिएका व्यक्तिहरुको खकार संकलन गरेर क्षयरोग भए÷नभएको पत्ता लगाउन प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको संयोजक जोशीले बताए । केहीदिनभित्रै उनीहरुको रिपोर्ट आइसक्ने बताइएको छ ।
समुदायमा रहेका क्षयरोगका बिरामीहरुको खोजीका लागि शिविरमार्फत सेवा दिने काम भइरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
शनिबार वासुलिङ्ग स्वास्थ्यचौकी र आइतबार सतबाँझ सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन हुने जोशीले बताए ।
सुर्नया गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउनका लागि गतबर्षदेखि कार्यक्रम सञ्चालनमा रहेको छ । गत बर्ष १५ जना क्षयरोगका बिरामी पत्ता लागेकोमा उनीहरु उपचार पछि निको भइसकेका जोशीले जानकारी दिए ।
चालु आर्थिक बर्षको हालसम्म पालिकाभरी ८ जना क्षयरोगका नयाँ बिरामी पत्ता लागेका र ती मध्ये ३ जना उपचारपछि निको भइसकेका छन् । पाँच जना अहिले उपचारमा रहेका बताइएको छ ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीहरु लक्ष्य अनुसार अझै उपचारमा आएका छैनन् ।
लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गर्दछ ।