Sagun Khabar
बैतडीको दोगडाकेदार–१ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं १ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । वडाले पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै सूचक पूरा गरेपछि शुक्रबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । 

यो संगै दोगडाकेदार गाउँपालिकाका सातओटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका स्वास्थ्य शाखा प्रमुख नाथले बताए । वडा नं २ मात्रै पूर्ण संस्थागत सुत्केरी घोषणा हुन बाँकी रहेको र यो महिनामात्रै उक्त वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने उनले बताए । 

Atrya hospital

वडा नं १ भित्र रहेका सबै गर्भवती आमाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार गर्भजाँच गराएको, सबै आमाहरुमा स्वास्थ्य संस्थामै सुत्केरी भएको, गर्भवती तथा सुत्केरी आमाहरुले आइरन चक्की सेवन गरेको, गर्भवती आमाहरुले टिडी खोप लगाएको, गर्भवती आमाहरुले तीन पटक अल्ट्रासाउण्ड गरेको, आमाहरुले सुत्केरी भएपछि स्वास्थ्य जाँच गरेको लगायतका सूचकहरु पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको नाथले बताए । 

आमा तथा शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यसहित पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालनमा ल्याइएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । 

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । 

गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी वडाको कार्यविधि बनाएको र सोही कार्यविधि अनुसार वडालाई पूर्ण संस्थागत सुत्केरी वडाको प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै पूर्ण संस्थागत सुत्केरी वडा घोषणा अभियानमा सहयोग पुर्याउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानपत्र प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । 
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update