
काठमाण्डौ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुने प्रदर्शनको क्रममा तोडफोड र फोहोर गरेबापत सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। महानगरले आठ वटा शीर्षकमा यो जरिवाना निर्धारण गरेको हो।
महानगरका आठ जना नगर प्रहरीले निर्मल निवास, काठमाण्डौका नाममा आठवटा छुट्टाछुट्टै पत्र काटेका छन्। राजसंस्था पुनर्स्थापनाको मागसहित हिजो तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। उद्योगपति दुर्गा प्रसाईंको आह्वानमा आयोजित उक्त प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा, र राप्रपा नेपालले पनि समर्थन गरेका थिए।
फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डौ आउँदा त्रिभुवन विमानस्थल क्षेत्रमा स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पुगेको थियो। त्यसबेला महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरिवाना बुझाएका थिए।
यसअघि पनि नेकपा (एमाले) ले दरबारमार्गमा आयोजना गरेको कार्यक्रममा संरचनामा क्षति पुर्याएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।
प्रदर्शन र सभा–समारोहमा हुने तोडफोड र फोहोर व्यवस्थापनमा काठमाण्डौ महानगरपालिकाले कडा नीति अवलम्बन गर्न थालेको देखिन्छ। प्रदर्शनबाट हुने नोक्सानीको जिम्मेवारी कसले लिने भन्ने विषयमा महानगरले थप स्पष्ट र कडा कदम चालेको हो।