Sagun Khabar
चैते नवरात्र शुरु, बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुइँचो 

बैतडी –आजदेखि चैते नवरात्र शुरु भएको छ । चैत नवरात्र शुरु भएसंगै बैतडीका विभिन्न ठाउँमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । नवरात्रको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा बलिसहित पूजाआजा हुने गरेको निङ्गलाशैनी भगवती मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए । 

बैतडीमा बिशेष गरेर भगवतीका मन्दिरहरुमा यो नवरात्रमा पनि बलिसहित जात्रा हुने गरेको बताइएको छ । यो नवरात्रलाई वासन्तिक नवरात्र भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।

नवरात्रको पहिलो दिन आज शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राख्ने चलन रही आएको छ । चैते नवरात्रलाई जेठो नवरात्रका रुपमा मान्ने गरिएको उनले बताए । नवरात्र उपासनाको शुरुवात गर्नेहरुले यसै नवरात्रबाट उपासना शुरु गर्नुपर्ने उनले बताए । 

Atrya hospital

यो नवरात्रमा पनि शिव र शक्ति दुवैको पूजाआजा गर्ने चलन रही आएको छ । मन्दिरहरुमा जात्रा र नवरात्रका लागि तराईबाट पहाड आउनेहरुको संख्या समेत बढेको लेखकले बताए । 

बैतडीका प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर, त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी भगवती मन्दिर, कफलाशैनी भगवती मन्दिर, फाल्ङाशैनी भगवती मन्दिर लगायतका शक्तिपीठहरुमा पूजाआजा शुरु गरिएको छ । कतिपय शक्तिपीठ तथा मन्दिरहरुमा यो नवरात्रमा पनि जमरा राख्ने चलन रही आएको छ । 

यी शक्तिपीठहरुमा स्थानीय परम्परा अनुसार चैत्राष्टमी र अन्य तिथीहरुमा बलिसहित जात्रा हुने गरेको निङ्गलाशैनी भगवती मन्दिरमा पूजारी भट्टले बताए । 

यस्तै जिल्लामा रहेका सिगास, केदार, वासुलिङ्ग, शिवनाथ, उदयदेव, भूमीराज, दोगडाकेदार लगायतका मन्दिरहरुमा पनि नवरात्रको अवसरमा जमरा राख्ने चलन रही आएको छ । 

नवरात्रको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा दैनिक नित्य पूजापाठ गर्ने गरिएको आचार्य लेखकले बताए । शक्तिपीठ तथा मन्दिरहरुमा चैते नवरात्रको समयमा पूजापाठका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् । बसाइसराइ गरेर गएकाहरु पनि चैत नवरात्रको समयमा पुख्र्यौलीको थलोमा फर्कने गरेका छन् । 

चैते नवरात्रको समयमा आफन्तजनहरुसंग भेटघाट हुने भएकाले पनि यसको महत्व बढ्दै गएको स्थानीय डम्मर भट्टले बताए । पूजाआजाको समयमा टाढाका आफन्तहरुसंग भेटघाट हुने भएकाले यसको सामाजिक महत्व समेत रहेको उनले बताए ।

बैतडीमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update