Sagun Khabar
पाटनका तीन स्वास्थ्य संस्थामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर, स्त्रीरोग विशेषज्ञद्वारा सेवा

बैतडी- बैतडीको पाटन नगरपालिकाका तीन स्वास्थ्य संस्थामा महिलाका लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नेपाल मेड जर्मनी र नगरपालिकाको सहकार्यमा पाटन प्राथमिक स्वास्थ्य केन्द्र, वसन्तपुर स्वास्थ्य चौकी र सिद्धेश्वर स्वास्थ्य चौकी खोडपेमा यो शिविर आयोजना गरिन लागेको हो।

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार, महिलाहरूको प्रजनन स्वास्थ्य समस्याको समाधानका लागि आयोजित यस शिविरमा विशेषज्ञ सेवा उपलब्ध गराइनेछ। शिविर चैत २२ गते पाटन–६, प्राथमिक स्वास्थ्य केन्द्रमा,चैत २३ गते पाटन–८, सिद्धेश्वर स्वास्थ्य चौकीमा र चैत २४ गते पाटन–५, वसन्तपुर स्वास्थ्य चौकीमा सञ्चालन गरिने छ ।

Atrya hospital

शिविरमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरूको जाँच, उपचार र परामर्श प्रदान गरिनेछ। विशेष गरी गर्भ नरहने समस्या, पटक–पटक गर्भ तुहिने समस्या, महिनावारीमा अत्यधिक रगत बहने वा पेट दुख्ने, पिसाब गर्दा पोल्ने वा दुख्ने लगायतका रोगहरूको परीक्षण गरिनेछ।

साथै, पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँचसमेत गरिने जानकारी सिद्धेश्वर स्वास्थ्य चौकीका सिनियर अहेब जयराज भट्टले दिए। शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निता तिमिल्सिना र रेजिना खड्काबाट सेवा प्राप्त गर्न सकिनेछ।

स्वास्थ्य समस्या लुकाएर बस्नुपर्ने बाध्यता अन्त्य गर्न र सुरक्षित प्रजनन स्वास्थ्य सुनिश्चित गर्न यो शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। नगरपालिकाका महिला नागरिकहरूले यस अवसरको अधिकतम लाभ उठाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update