
डोटी –नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दू धर्म, हिन्दू संस्कृति र परम्परा मान्ने राष्ट्र भएको बताएका छन् ।
नेपालमा हिन्दू राज्य र राजसंस्था स्थापना हुनुपर्ने माग राख्दै पछिल्ला दिनहरुमा विभिन्न किसिमका आन्दोलनका गतिविधि भइरहेका बेला डोटी र डडेल्धुराको संगम स्थलमा रहेको गहनान धार्मिक क्षेत्रमा सञ्चालन भइरहेको श्रीमद् देवी भागवत महापुराण ज्ञान धन, धान्याञ्चल लक्ष हवन महायज्ञको उद्घाटन गर्दै सभापति देउवाले नेपाल हिन्दू राज्य घोषणा नभएपनि नेपाली सबै हिन्दू रहेको बताएका हुन् ।
देउवाले नेपाल हिन्दू धर्ममा आधारित राष्ट्र भएको बताए । नेपालका धेरै कुरा हिन्दू संस्कृति र परम्परामा अडिग रहेकोसमेत उनले बताए ।
देउवाले गहनान धाम क्षेत्र ऋषिमुनीहरुले तपस्या गर्ने भूमि भएकाले यसको महत्व ठूलो रहेको बताए ।
सीता (सेती) नदी र साकल्य नदी मिसिएर बनेको त्रिवेणी धाम गहनानमा माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्दछ । देउवाले शिखर नगरपालिका– १० उच्चाकोटमा रहेको सिताराम माविमा अध्ययन गरेको कुरा सम्झदैं आफूहरू स्कुल जाँदा–आउँदा गहनानमा नुहाउने गरेको बताए । जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कार्य हुने भएकाले यो क्षेत्र धार्मिक हिसाबमा महत्वपूर्ण रहेको उनले बताए ।
उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरुको पवित्र स्थलका रुपमा गहनान धाम रहेको र घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम धाम रहेको बताए ।
धार्मिक पर्यटन प्रवद्र्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ चैत १७ गतेदेखि २५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।