
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त अभियान अन्तर्गत खोजपड्ताल शिविर सञ्चालन गरेर ६ सय बढी नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
यही चैत १३ देखि १७ गतेसम्म पालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा खोजपड्ताल शिविर सञ्चालन गरिएको क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द्र जोशीले बताए ।
एआइ जडित डिजिटल एक्सरेबाट नागरिकको छातीको एक्सरे गरेर शंकास्पद बिरामीहरुको खकार संकलन गरिएको जोशीले बताए ।
शिखरपुर स्वास्थ्यचौकी, रौलेश्वर स्वास्थ्यचौकी, भौनेली स्वास्थ्यचौकी, बासुलिङ्ग स्वास्थ्यचौकी र सतबाँझ सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन भएको खोजपड्ताल शिविरमा १९६ जना पुरुष र ४१२ जना महिला गरेर ६ सय ९ जनाको छातीको एक्सरे गरिएको जोशीले बताए ।
छातीको एक्सरे गर्दा ६५ जनाको छातीमा दाग देखिएकाले उनीहरुको खकार संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पतालको प्रयोगशालामा पठाइएको जोशीले बताए ।
खकार संकलन गरिएकामध्ये तीन जनामा क्षयरोग भएको पुष्टि भएको छ । केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । क्षयरोग पुष्टि भएकाहरुलाई उपचारको दायरमा ल्याइएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
जिल्लामा पहिलोपटक एआइ जडित डिजिटल एक्सरेबाट क्षयरोगको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीहरु लक्ष्य अनुसार अझै उपचारमा नआएकाले खोजपड्ताल शिविरमार्फत उनीहरुलाई उपचारको दायरमा ल्याउने प्रयास भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोजप्रसाद ओझाले बताए ।
नेपालका विभिन्न जिल्लामा अहिले क्षयरोगमुक्त अभियान सञ्चालनमा रहेको र बैतडीका सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा यो अभियान सञ्चालनमा रहेको ओझाले बताए ।
लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गर्दछ ।