
बैतडी–बैतडीको शिवनाथ गाउँपालिका वडा नं २ को महाकाली नदी किनारसंग जोडिएको खैरानीघाटमा सडक पुगेको छ ।
गाउँपालिकाको केन्द्र सुल्लेखानदेखि महाकाली नदी किनार खैरानीघाट सम्म कच्ची सडक निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । झण्डै १६ किलोमिटर सडक निर्माण गरिएको उनले बताए ।
शिवनाथ गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा उक्त सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताए । शिवनाथ गाउँपालिका र प्रदेश सरकारको ८० लाख भन्दा बढीको लगानीमा सडक निर्माण गरिएको अध्यक्ष साउँदले बताए ।
उक्त सडक निर्माण भएपछि खैरानीघाटदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्न सहज भएको छ । गाउँपालिकाको खाल,बस्कोटी,शर्माली लगायतका गाउँका मानिसहरु यो सडक सञ्जालमा जोडिएका छन् ।
खैरानी घाटमा सडक पुगेसंगै महाकाली नदी किनारबाट नदीजन्य पदार्थ ल्याउन सहज भएको छ भने ग्रामीण क्षेत्रका कृषि उपजहरुलाई बजारमा पुर्याउन पनि सहज भएको अध्यक्ष साउँदले बताए ।
स्थानीयहरुको माग र आवश्यकताका आधारमा करीब ३ बर्ष पहिलादेखि निर्माण शुरु गरिएको सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।