
बैतडी –बैतडीको पाटन नगरपालिकाका तीनओटा स्वास्थ्य संस्थाहरुमा महिलाहरुका लागि निशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
पाटन नगरपालिकाको आयोजना र नेपाल मेड संस्थाको सहयोगमा शिविर सञ्चालन हुने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा चैत २२ गते, सिद्धेश्वर स्वास्थ्यचौकीमा चैत २३ गते र वसन्तपुर स्वास्थ्यचौकीमा चैत २४ गते शिविर सञ्चालन नेपाल मेड संस्थाका सम्पर्क व्यक्ति महेन्द्र जोशीले बताए ।
शिविरमा स्त्री तथा प्रसूती रोग बिशेष डा.निता तिमिल्सिना र डा. रेजिना खड्काले सेवा दिने जोशीले बताए ।
शिविरमा गर्भ नबस्ने र पटक–पटक गर्भ तुहिने समस्याको चेकजाँच गर्नुका साथै महिनावारी हुँदा पेट दुख्ने समस्याको उपचार गरिने बताइएको छ ।
यस्तै पिसाब फेर्दा पोल्ने, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पाठेघरको मुखको क्यान्सरको जाँच, गर्भ पतन तथा परिवार नियोजन सेवा शिविरमा दिइने पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टले बताए ।
दुर्गमका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि शिविरको आयोजना गरिएकाले शिविरमा आएर सेवा लिन आग्रह गरिएको नेपाल मेड संस्थाका सम्पर्क व्यक्ति जोशीले बताए । संस्थाले सरकारी निकायहरुसंग मिलेर दुर्गमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको उनले बताए ।