
बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस खरीद गरेर ल्याएको छ ।
नगरपालिका क्षेत्रभित्र सञ्चालन गर्ने उद्देश्यसहित नगर बस खरीद गरिएको र चैत २४ गते औपचारिक रुपमा उद्दघाटन गरेर सेवा सञ्चालन गरिने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले बताए ।
दशरथचन्द नगरपालिकाले झण्डै ५० लाखको लागतमा नगर बस खरीद गरेको हो । उक्त बस काठमाडौंको सिपर्दी टेडिङ प्रालिले टेन्डरमार्फत भ्याटसहित ४९ लाख ९९ रूपैयाँमा खरिद गरिएको हो । यो संगै बैतडीमा दशरथचन्द नगरपालिका नगर बस सञ्चालन गर्ने पहिलो नगरपालिका बन्ने छ ।
नगर बस सञ्चालनका लागि कार्यविधि निर्माण भइरहेको र त्यसलाई पारित गरेर नगर बस सेवा सञ्चालनमा ल्याइने सूचना अधिकारी बिष्टले बताए । कार्यविधिमा विद्यार्थी, जेष्ठ नागरिक पत्रकार लगायतलाई भाडामा बिशेष छुट दिने तयारी भएको उनले बताए । यस्तै नेपाल सरकारले तोकेको भाडादर अनुसार भाडा तय गरेर नगर बस सेवा सञ्चालन हुने बिष्टले बताए । उनले भने,‘नगर बस खरीद गरेर नगरपालिकामा ल्याइसकेका छौं । यसका लागि कार्यविधि निर्माणको चरणमा छ । चैत २४ गते औपचारिक रुपमा उद्दघाटन गरेर नगर बस सेवा सञ्चालन गर्छौ ।’
सतबाँझदेखि झुलाघाटसम्म सञ्चालन गर्ने गरेर नगर बस सेवा सञ्चालनको तयारी रहेको छ । यसका साथै नगरपालिकाका अन्य वडाहरुमा पनि कसरी बस सेवा पुर्याउन सकिन्छ त्यही हिसाबले अगाडि बढ्ने सूचना अधिकारी बिष्टले बताए ।
नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले चुनावका बेला नगर बस सञ्चालन गर्ने प्रतिबद्धता यो संगै पूरा गरेका छन् । नागरिक सामु बोलिएको बाचा पूरा गर्न नगर बस सेवा सञ्चालनको तयारी भएको नगर प्रमुख जोशीले बताए । उनले भने, ‘चुनावका बेला बोलेका कुरा मध्ये नगर बस सञ्चालन गर्ने कुरा पूरा हुने भएको छ । यसले नगरबासीहरुलाई सहज हुने मेरो विश्वास छ ।’
नगर बस सञ्चालनमा आउने भएपछि सर्वसाधारणहरुलाई यात्रामा सहज हुने अपेक्षा गरिएको छ ।