
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं मेलाखानस्थित जनकालिका बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि क्षमता विकास तालिम सञ्चालन गरेको छ ।
यही चैत १७ र १८ गते दुई दिने तालिम सञ्चालन गरिएको उक्त तालिममा ३५ जनाको सहभागिता रहेको थियो । नयाँ शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिनका लागि तालिमको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष खडकबहादुर बोहराले बताए ।
बैतडी बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष मानबहादुर चन्दले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा सहकारी संस्थाले सञ्चालन गर्ने क्रियाकलाप, बचत, ऋण लगायतका सहकारीसम्बन्धी बिषयमा जानकारी दिइएको थियो ।
२०५३ सालमा कालिका बचत समूहबाट शुरु भएको संस्थाले २०५६ सालमा सहकारीमा परिणत भएको थियो । उक्त सहकारीमा अहिले एक हजार बढी शेयर सदस्य रहेका छन् भने ४ सय बालबचतकर्ता रहेका छन् ।
सहकारी संस्थामा २८ लाख ३० हजार २७० रुपैयाँ शेयर पूँजी रहेको छ भने ३ करोड २६ लाख ६३० रुपैयाँ बचत रकम रहेको छ । सहकारी संस्थाले ३ करोड २६ लाख ८७२ रुपैयाँ ऋण लगानी गरेको कार्यकारी प्रमुख प्रेमसिंह बोहराले बताए ।
यस्तै सहकारी संस्थासंग ३ लाख ५५ हजार ७३५ रुपैयाँ अनुदान रकम रहेको बताइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकाका केही भागमा संस्थाको कार्यक्षेत्र रहेको बोहराले बताए ।
पछिल्लो समयमा विभिन्न ठाउँका सहकारी संस्थाहरु निष्क्रिय रहेका बेला जनकालिका बचत तथा ऋण सहकारी संस्थाले सहकारीको मर्म अनुसार काम गरिरहेको संस्थाका अध्यक्ष बोहराले बताए । सहकारीले परिचालन गरेका ऋण लगानी अहिलेसम्म नडुबेको उनले बताए ।
सहकारीका माध्यमबाट शेयर सदस्यहरुलाई विभिन्न व्यवसाय सञ्चालन गर्न सहज हुनुका साथै बित्तीय क्षेत्रमा समेत पहुँच पुगेको बताइएको छ ।