Sagun Khabar
बैतडीको पञ्ज्यूनयाँमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ती निर्माण, वैशाखमा प्राण प्रतिष्ठा गरिने 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका–६,पञ्ज्यूनयाँस्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।

स्थानीयहरुको सहभागितामा मूर्ती निर्माण गरिएको राम मूर्ती निर्माण समितिका सदस्य नैनसिंह गोयलाले बताए । अयोध्यामा राम मूर्तीको प्राण प्रतिष्ठा गरेको दिन मूर्ती निर्माणका लागि आफूले प्रस्ताव गरेको र उक्त प्रस्तावको आधारमा समिति निर्माण गरेर मूर्ती निर्माण गरिएको गोयलाले बताए । 

Atrya hospital

देश तथा विदेशमा रहेका श्रद्धालुहरुको चन्दाबाट ५ लाख र दोगडाकेदार गाउँपालिकाबाट २ लाख आर्थिक सहयोग प्राप्त भएपछि मूर्ती निर्माण कार्य सम्पन्न गरिएको राम मूर्ती निर्माण समितिका अध्यक्ष बिरसिंह कार्कीले बताए । 

जमाडी र चौलानी नदीको संगम नजिकै रहेको राम मन्दिरमा भगवान रामको मूर्तीको निर्माण गरिएको कार्कीले बताए । ऐतिहासिक तथा धार्मिक हिसाबले महत्वपूर्ण राम मन्दिरमा राममूर्ती निर्माण गरिएको कार्कीले बताए । 

आज राम नवमीका दिन मूर्तीको प्राण प्रतिष्ठा गर्ने तयारी भएपनि बिशेष कारणले रोकिएको र नयाँ बर्षमा मूर्तीको प्राण प्रतिष्ठा गर्ने तयारी रहेको मूर्ती निर्माण समितिका सदस्य गोयलाले बताए । 

हरेक बर्ष रामनवमीका दिन पञ्ज्यूनयाँस्थित राममन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । यो मन्दिरमा बैतडीसहित सीमावर्ती दार्चुलाका दर्शनार्थीहरुको समेत सहभागिता रहने गरेको पाइन्छ । यसका साथै सुदूरपश्चिमका अन्य जिल्लाहरुबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको स्थानीय भानसिंह कार्कीले बताए । 

पञ्ज्यूनयाँस्थित राम मन्दिरका बिषयमा स्कन्द पूराणमा समेत उल्लेख गरिएको संस्कृतिका जानकारहरुले बताउँदै आएका छन् । जमाडी र चौलानी नदीको संगममा रहेको मन्दिर धार्मिक रुपले निकै महत्वपूर्ण रहेको कार्कीले बताए । 

राम मन्दिर परिसरमा निकट भविष्यमा होमकुण्ड निर्माण गर्ने योजना समेत रहेको बताइएको छ । उक्त मन्दिरमा परापूर्वकालदेखि नै विवाह, ब्रतबन्धजस्ता शुभकार्य गर्ने गरिएको कार्कीले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update