Sagun Khabar
बैतडीमा १४ हजार ४३४ परिवार स्वास्थ्य बीमामा आवद्ध 

बैतडी –बैतडीमा १४ हजार ४ सय ३४ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । 

स्वास्थ्य बीमा कार्यक्रम लागू भएको ९ बर्षमा बैतडीमा ५१ हजार ८ सय २९ जना बीमित पुगेका  स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क कार्यालयका प्रमुख जमनसिंह बडालले जानकारी दिए । 

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमितले १ लाख रुपैयाँसम्मको उपचार निशुल्क पाउने गरेका छन् । ३ हजार ५ सय प्रिमियर तिरेर ५ जनासम्मको परिवारले १ लाख सम्मको उपचार निशुल्क पाउने गरेको कार्यालय प्रमुख बडालले बताए । 

Atrya hospital

बैतडीमा ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेर २ हजार ५५५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् भने ७ सय ४८ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार बीमा आवद्ध भएका छन् । महिला स्वास्थ्य स्वयं सेविकाको हकमा संघीय सरकारले आधा र सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आधा प्रिमियम रकम तिर्ने गरेको बडालले बताए । 

१० हजार ८ सय ४६ जेष्ठ नागरिक, १ सय ३९ परिवार एचआइभी संक्रमित, २० जना कुष्ठरोगी, ४ सय ३६ जना (क) वर्गका अपांगता भएका व्यक्ति र ५० जना एमडीआर टिबी संक्रमित भएका व्यक्ति स्वास्थ्य बीमामा आवद्ध भएका छन् । उनीहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको दर्ता अधिकारी अनिलचन्द्र जोशीले बताए ।  

बैतडीमा स्वास्थ्य बीमामा आवद्ध भएका व्यक्तिहरुका लागि जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीलाई सूचीकृत स्वास्थ्य संस्थाको रुपमा राखिएको छ । ती संस्थाहरुमा बिमितहरुको निशुल्क उपचार हुने दर्ता अधिकारी जोशीले बताए । 

यसैबीच बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर नवौं स्वास्थ्य बीमा बार्षिकोत्सव कार्यक्रम मनाइएको छ । स्वास्थ्य बीमाको सम्पर्क कार्यालय बैतडीमा आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रममा स्वास्थ्यकर्मी, बीमा कार्यालयका कर्मचारी, दर्ता सहयोगी लगायतको सहभागिता रहेको थियो । 

तपाईँको स्वास्थ्य हाम्रो अठोट ः सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता भन्ने मूल नाराका साथ बार्षिकोत्सव मनाइएको दर्ता अधिकारी जोशीले बताए । 

पूँजीको अभावमा उपचार गर्न नसक्ने नागरिकका लागि स्वास्थ्य बीमा बरदान सावित भएको बताउँदै बडालले सबैलाई स्वास्थ्य बीमामा आवद्ध हुन आग्रह समेत गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update