Sagun Khabar
मानसिक रोगले जेलिएको परिवार 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–३ रमसीलाकी ५२ बर्षीया मानमती बिष्टलाई अचेल परिवार सम्हाल्न गाह्रो भएको छ । 

१५ बर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी मानमतीका श्रीमान सोही बेलादेखि मानसिक रुपमा अस्वस्थ थिए । उमेरले ६० बर्ष पुग्नै लागेका लोग बिष्टको अवस्था अहिले पनि सुधार हुन सकेको छैन् । मानसिक समस्या भएका श्रीमानको साथमा जिन्दगी चलाएकी मानमतीलाई अहिले भने निकै अप्ठ्यारो भएको छ । 

चार छोरी र एक छोराकी आमा मानमतीका दुई सन्तान समेत मानसिक रोगी भएपछि उनलाई घरपरिवार सम्हाल्न निकै गाह्रो भएको हो । छोराछोरी ठूला भएपछि आफ्नो दुःखको भारी बिसाउने सोच बनाएकी मानमतीको थाप्लोमा झन् दुःख थपिएको छ । उनले भनिन्, ‘छोराछोरी ठूला भएपछि मेरो दुःख हट्छ । छोराछोरीले मलाई सहयोग गर्छन् भनेर सोचेकी थिए । तर छोराछोरी नै बिरामी भएपछि मलाई साह्रै समस्या भएको छ ।’

Atrya hospital

उनकी २५ बर्षीया छोरी रमा बिष्ट र २१ बर्षीय छोरा राजेन्द्र बिष्टमा पनि मानसिक समस्या देखिएको छ । कक्षा ७ मा पढ्दै गरेको बेलामा राजेन्द्रमा एक्कासी मानसिक समस्या आएपछि अहिले बिष्ट परिवार निकै समस्यामा परेको छ । 

मानमतीका छोरा राजेन्द्रमा मानसिक समस्या आएपछि उनी असमान्य व्यवहार देखाउन थाले । उनलाई सम्हाल्नै गाह्रो भएपछि केही दिन दाम्लोले समेत बाँध्नुपर्यो । अहिले उनको स्वास्थ्यमा केही सुधार आएपनि पूर्ण रुपमा निको हुन सकेका छैनन् । 

मानमतीकी एक छोरीको विवाह भइसकेको छ भने दुई छोरी सानै छन् । उनीहरु एकजना कक्षा ८ र एक जना कक्षा सातमा पढ्दैछन् । 

श्रीमान, एक छोरा र एक छोरी मानसिक रोगी भएपछि मानमतीलाई घरमा खाद्यान्नको जोहो गर्न समेत मुस्किल भएको छ । रुखबाट लडेर मानमती आफू समेत अपाङ्ग बनेकी छन् । 

मानसिक समस्या भएका परिवारका सदस्यहरुलाई उपचारको दायरमा ल्याउन नसक्दा बिष्ट परिवारको विचल्ली भएको छ । मानमतीका भतिजाहरुले केही सहयोग गरेर उनका छोरा र छोरीलाई औषधिको व्यवस्था गरेपछि उनीहरुमा केही सुधार आएको छ तर अहिले औषधि सकिएपछि समस्या भएको छ । मानमतीले भनिन्,‘औषधी उपचारका लागि पैसा छैन् । कसरी यो परिवारलाई कसरी सम्हालौं ।’

मानमतीको घरका तीन  जना सदस्य मानसिक रोगी भएपछि उनलाई सहयोग गर्न स्थानीय अभियान्ता पार्वती बिष्टले सामाजिक सञ्जालमार्फत केही सहयोग समेत जुटाएकी छन् । सानो सहयोगले उनीहरुको औषधी उपचार गर्दा केही सुधार भएकाले फेरि अभियान सञ्चालन गर्ने सोच बनाएको उनले बताइन् । 

मानमती बिष्टको परिवारलाई वडा कार्यालयबाट सक्दो सहयोग गरेको भएपनि पार्याप्त हुन नसकेको सुर्नया गाउँपालिका –३ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टले बताए । उनीहरुलाई उपचारको दायरमा ल्याउन सबैको सहयोग आवश्यक रहेको उनले बताए । 

मानमती बिष्टको परिवारलाई सहयोग भएमा बिरामीहरुलाई उपचारको दायरमा ल्याउन सकिने अभियान्ता बिष्टले बताइन् । आफू समेत अपांगता भएकी बिष्टले समस्या बुझेकाले मानमतीको परिवारका लागि सहयोग अभियान सञ्चालन गरिएको बताइन् । 

मानमती बिष्टका छिमेकीहरुलाई उनलाई सानोतिनो सहयोग गर्दै आएका छन् । तर एकै घरका तीन–तीन जना बिरामी भएपछि छिमेकीको सहयोगले समेत उनको गर्जो टर्न सकेको छैन् । मानमतीलाई गास,बास र कपासकै समस्या रहेको छिमेकी पार्वती भट्टले बताइन् । सानोतिनो सहयोग गरिरहेको भएपनि बिरामीहरुको उपचारमा ठूलो धनराशी चाहिन भएकाले समस्या भएको स्थानीय पार्वती भट्टले बताइन् । 

मानमती बिष्टको परिवारलाई सहयोग गर्न चाहने महानुभावहरुले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा मानमती बिष्टको नाममा रहेको खाता नम्बर ०६५०५०५०२६९०२५ मा रकम जमा गर्न सक्ने बताइएको छ । 

Manmati-1744164723.jpg
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update