Sagun Khabar
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् ।

हङकङमा चलिरहेको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत कुवेतसँगको खेलमा दीपेन्द्रले सबैभन्दा धेरै इनिङ्स विना ‘डक’ अर्थात् शून्यमा आउट नहुने कीर्तिमान बनाएका हुन् ।

दीपेन्द्रले अहिलेसम्म ७६ खेल खेल्दा ६६ इनिङ्समा  डक आउट भएका छैनन् । दीपेन्द्रभन्दा पछि वेस्ट इन्डिजका मार्लाेन स्याम्युल्स छन् । मार्लाेन लगातार ६५ इनिङ्समा डक आउट भएका छैनन् । नेपालले कुवेतलाई ६ विकेटले हरायो ।

Atrya hospital

यसअघि दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । यस्तै दीपेन्द्र एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीमध्ये एक हुन् ।

कुवेतले दिएको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ८१, आसिफ शेखले ५३, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । हङकङका यासिन पटेलले २ विकेट लिए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै धेरै रनको लक्ष्य भेट्याएको हो । यसअघि सन् २०२३ मा नेपालले मलेसियासँगको खेलमा १ सय ६६ रनको लक्ष्य पूरा गरेको थियो ।

यो खेलमा कुशल र आसिफले पहिलो विकेटका लागि १ सय २७ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि सन् २०२१ मा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले १ सय १६ रनको ओपनिङ साझेदारी गरेको थियो ।

यसअघि मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनायो । हङकङका क्लिन्टो अन्टोले सबैभन्दा धेरै ४१ रन बनाए । नेपालका सोमपाल कामीले ३, नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १÷१ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा पर्सि शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ । लिगको शीर्ष दुई टोलीले आइतवार फाइनल खेल्नेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update