
बैतडी- बैतडीको पाटनमा बैतडी पाटन महोत्सव तथा सुदुरपश्चिम पर्यटन व्यापार मेला सुरु भएको छ । स्थानीय कला संस्कृति,कृषि, पर्यटन, रोजगार तथा औद्योगिक व्यापारलाई समेटदै महोत्सव सुरु भएको च्याम्बर अफ कमर्श बैतडीका अध्यक्ष हरीशप्रसाद जोशीले बताए ।
वैशाख १० गतेसम्म सञ्चालन हुने प्रदेश स्तरिय महोत्सव हिजो मात्रै उद्धघाटन गरिएको थियो । नेपाल च्याम्बर अफ कमर्श बैतडीको आयोजना, क्वालिटी आल्मुनियम स्टिल एण्ड यु पि भि सि मुख्य प्रायोजक रहेको बैतडी पाटन महोत्सव तथा व्यापार मेलाको पाटन नगरपालिका प्रवन्धक रहेर महोत्सव सुरु भएको जोशीले बताए ।
श्रीकृष्ण मावि पाटनको खेल मैदानमा सुरु भएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सव संचालनको कार्यतालिकामा उल्लेख गरिएको छ । आज बुधवार लोक देउडा कलाकार रेखा जोशी ,रेश बि सि , मनोज धामी लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको बताइएको छ ।
महोत्सव तथा व्यापार मेलामा स्थानीय कृषि उत्पादनलाई जोड दिदै स्थानीय कला संस्कृतिको जगेर्ना गर्न स्थानीय कलाकारलाई प्रोत्साहन गरिने आयोजकले जनाएको छ । बैशाख १० गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रियदेखि स्थानीयस्तरका कलाकारको बेजोड प्रस्तुति रहने हुदा यसले पर्यटन प्रवर्धन र कला संस्कृतिको क्षेत्रमा निकै नै टेवा पुर्याउने आयोजकको दाबी रहेको छ।
बैतडी पाटन महोत्सव तथा सुदुरपश्चिम व्यापार मेलाको उद्देश्य स्थानीय व्यापार बढाउने रहेकाले कृषक वर्गमा आफ्नो उत्पादनको प्रदर्शनी तथा बिक्रीवितरण गर्न समेत आयोजकले अनुरोध गरेको छ ।