Sagun Khabar
पुर्चौंडीमा बृहत स्वास्थ्य शिविरको तयारी पूरा 

बैतडी -  बैतडीको पुर्चौंडीमा भोलि (शुक्रबार) देखि शुरु हुने बृहत स्वास्थ्य शिविरको तयारी पूरा भएको छ । 

पुर्चौंडी नगरपालिकाको आयोजना र बैतडी समाज कैलालीको सहकार्यमा सञ्चालन हुने शिविरको तयारी पूरा भएको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । 

दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि बैतडी समाज कैलालीसंग सहकार्य गरेर बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले बताए । उनले भने, ‘हामीले नगरबासीको स्वास्थ्य सेवामा पहुँच पुर्याउन विभिन्न निकायहरुसंग समन्वय गरेर शिविरको आयोजना गरेका छौं । यसले नगरबासीहरुलाई सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

Atrya hospital

शिविरमा बिशेषज्ञ सेवा प्रदान गरिने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए । शिविरमा जनरल ओपडीका साथै मुटुको चेकजाँच,पेट तथा पत्थरीको चेकजाँच,स्त्री तथा प्रसूती रोग सेवा,निशुल्क प्रयोगशाला सेवा लगायतका सेवाहरु प्रदान गरिने उनले बताए । 

शिविरमा धनगढी नेत्रालयको सहकार्यमा आँखा चेकजाँच सेवा सञ्चालन हुने जनस्वास्थ्य निरीक्षक अवस्थीले बताए । उक्त शिविरमा आँखाको चेकजाँचका साथै मोतीबिन्दुको शल्यक्रिया समेत गरिने अवस्थीले बताए । 

शिविर सञ्चालनका लागि पुर्चौंडी बहुमुखी क्याम्पसको भवन र पुरानो स्वास्थ्यचौकी भवनमा व्यवस्थापन मिलाइएको छ । शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने भएकाले शिविरमा आएर सेवा लिन नगरबासीहरुलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । 

शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुने शिविरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने बताइएको छ । 

बैतडी समाज कैलालीले हरेक बर्ष विभिन्न स्थानीय तहहरुसंगको सहकार्यमा शिविरमा प्राविधिक सहयोग गर्दै आएको छ । 

शिविरलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पुर्चौंडी बहुमुखी क्याम्पसको स्ववियुले स्वयंसेवक खटाउने तयारी गरेको स्ववियु सभापति उत्तरा महराले बताइन् । शिविरमा आएर सेवा लिन सबै नागरिकलाई उनले आग्रह समेत गरेकी छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update