
बैतडी - बैतडीको पुर्चौडीमा सम्पन्न १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चौडी नगरपालिकाले जितेको छ । पुर्चौडी १ स्थित कमल विशाल पार्कमा सम्पन्न भएको प्रतियोगितामा पुर्चौडी नगरपालिकाले ९ स्वर्ण १० रजत र ७ कास्य गरी २६ पदक हात पार्दै उपाधि जितेको हो ।
शुक्रबार सम्पन्न प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाले द्वितिय स्थान हासिल गरेको छ । दोगडाकेदारले ९ स्वर्ण, ३ रजत र १ कास्य गरी १३ पदक जितेर द्वितीय स्थान हासिल गरेको हो ।
प्रतियोगितामा मेलौली नगरपालिकाले तृतीय स्थान प्राप्त गरेको छ । मेलौली नगरपालिकाले ८ स्वर्ण, ६ रजत र ६ कास्य गरी २० पदक हात पार्दै तृतीय स्थान हात पारेको हो ।
पाटन नगरपालिकाले ३ स्वर्ण २ रजत र ४ कास्य प्राप्त गरेको छ । सिगास गाउँपालिकाले ७ स्वर्ण ६ रजत ५ कास्य प्राप्त गरेको छ । शिवनाथ गाउँपालिकाले १ रजत र २ कास्य प्राप्त गरेको छ । दनपाले स्वर्ण ३, १२ रजत र ६ कास्य प्राप्त गरेको छ ।
डिलासैनी गाउँपालिकाले १ स्वर्ण, ३ रजत प्राप्त गरेको छ । सुर्नया गाउँपालिकाले २ स्वर्ण र २ कास्य प्राप्त गरेको छ । पन्चेश्वर गाउँपालिकाले १ रजत ३ कास्य प्राप्त गरेको छ ।गत बर्षको प्रतियोगितामा प्रथम स्थान हासिल गरेको मेलौली नगरपालिकाले यस बर्ष भने तेस्रो स्थानमा चित्त बुझाएको छ ।
जिल्ला खेलकुद विकास समिती बैतडीको आयोजना तथा पुर्चौडी नगरपालिकाको सह आयोजनामा यहि बैशाख ३ गते देखि १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको थियो ।
प्रतियोगितामा बैतडीका १० वटै स्थानिय तहको सहभागिता रहेको थियो ।