Sagun Khabar
पूरा हुँदै पुर्चौंडीबासीको सडक सपना 

बैतडी–बैतडीको दुर्गम भनेर चिनिने पुर्चौंडी नगरपालिकामा पछिल्लो समयमा सडक निर्माणले तीव्रता पाएको छ । ढोल्यामोड–हाट सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य भइरहेको र पुर्चौंडीबासीको सडक सपना पूरा हुँदै गएको स्थानीयहरुले बताएका छन् । 

पूर्वाधार विकास कार्यालयमार्फत ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रे गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर नरेश भुलले बताए । 

ढोल्यामोडदेखि हाटसम्मको २२ किलोमिटरमध्ये १३ किलोमिटरमा कालोपत्रे गर्ने काम अघि बढेको उनले बताए । जगदम्बा बिल्डर्स र सीएभी ग्वाल्लेकले ढोल्यामोडदेखि हाट सडकमा काम गरिरहेको इन्जिनियर भुलले बताए । 
१३ किलोमिटर कालोपत्रेका लागि जगदम्बा बिल्डर्ससंग साढे १८ करोड र सीएभी ग्वाल्लेकसंग १६ करोडमा ठेक्का सम्झौता भएको थियो । सोही ठेक्का अन्तर्गत अहिले स्तरोन्नतीको काम भइरहेको इन्जिनियर भुलले बताए । 

Atrya hospital

सतबाँझा–श्रीभावर–हाट –दार्चुला सडकलाई प्रदेश गौरवको योजनाको रुपमा राखिएको छ । तर सडकमा थप ठेक्का लगाउन भने प्रदेश सरकारले बजेट विनियोजन गरेको छैन् । बहुबर्षीय ठेक्काका लागि फाइल तयार गरिएको भएपनि बजेट भने विनियोजन नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

लामो समयपछि पुर्चौंडी नगरपालिकाको केन्द्र हाट सम्मको सडकलाई स्तरोन्नति गरी कालोपत्रेको काम अघि बढेकाले नगरबासीलाई सहज भएको पुर्चौंडी नगरपालिकाका प्रवक्ता धिरेन्द्र बमले बताए । उनले भने, ‘अहिले सडकमा पहुँच पुगेको छ । मुख्य सडकको रुपमा रहेको ढोल्यामोड–हाट सडक स्तरोन्नति भइरहेको छ । यसले नगरबासीको सडक सपना पूरा हुने क्रममा रहेको छ ।’

ढोल्यामोडदेखि पुर्चौंडी नगरपालिकाको केन्द्र हाटसम्म सडक पुगेपछि सहज भएको स्थानीय विरेन्द्र रतोकीले बताए । सडकमा पहुँच भएसंगै व्यापार व्यवसाय समेत विस्तार भएको स्थानीयहरुको भनाइ रहेको छ । 

सडक निर्माण भएपछि केही सहज भएको र यसलाई चाँडै कालोपत्रे गर्नुपर्ने स्थानीयहरुको माग रही आएको छ । पहिलाको तुलनामा केही सहज भएपनि सडक पूरै कालोपत्रे नहुँदासम्म बाहै्रमास सवारी साधन चलाउन समस्या हुने गरेको यातायात व्यवसायीले बताएका छन् । 

पुर्चौंडी नगरपालिकाको केन्द्र हाटसम्मको सडक कालोपत्रे गर्नका लागि बजेटको अभाव हुन नदिने सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रतिबद्धता व्यक्त गरेकी छन् । केही दिन पहिला बैतडी समाज कैलालीले आयोजना गरेको बृहत स्वास्थ्य शिविरको उद्दघाटनका लागि पुर्चौंडी पुगेकी उनले यो क्षेत्रको विकासका लागि बजेट अभाव हुन नदिने बताएकी हुन् । विकास निर्माणका कामहरुमा तीनै तहका सरकारको समन्वय हुनुपर्नेमा मन्त्री खड्काले जोड दिइन् । उनले भनिन्, ‘यो क्षेत्रको विकासमा प्रदेश सरकारबाट सक्दो पहल हुन्छ । सडक स्तरोन्नतिको काम भइरहेको छ । यसमा बजेटको अभाव हुन दिइने छैन् ।’

नगरपालिकाले १० ओटै वडाका केन्द्रहरुमा सडक विस्तार गरिसकेको नगर प्रमुख दिपकबहादुर बमले बताए । १० ओटै वडाका केन्द्रहरुमा कच्ची सडक पुगेको भएपनि स्तरोन्नतिका लागि नगरपालिकाको बजेटले धान्न नसक्ने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update