Sagun Khabar
बैतडीको शिवनाथमा निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन 

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकामा आजदेखि दुई दिने निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन भएको छ । 

शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आयोजना तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महताले बताए । 

Atrya hospital

गाउँपालिकाबासीहरुलाई आँखा स्वास्थ्य सम्बन्धी सेवा दिने उद्देश्यले विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरेर आँखा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । उनले भने‘हामीले गाउँपालिकाबासीहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरेका हौं । आँखाको समस्या भएका नागरिकहरुले घरदैलोमै सेवा पाउन भन्ने हाम्रो चाहना हो ।’

गाउँपालिकाले गत बर्षपनि च्यारिटी हेल्थ फाउण्डेसन, धनगढी नेत्रालयसंगको सहकार्यमा शिविर सञ्चालन गरेको बताउँदै अध्यक्ष साउँदले यो बर्ष पनि शिविर सञ्चालन गरिएको बताए । 


शिविरमा सामान्य आँखा जाँचदेखि लिएर मोतीबिन्दुको शल्यक्रिया गर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानीय तहहरुमा आयोजना गरिएका शिविरमा प्राविधिक सहयोग गर्दै आएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए । 

शिविरमा च्यारिटी हेल्थ फाउण्डेसन नेपालका अध्यक्ष एवं बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टीमले सेवा दिइरहेको छ । आज एक कार्यक्रमको आयोजना गरेर शिविरको उद्दघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदको अध्यक्षतामा भएको उद्दघाटन सत्रमा बरिष्ठ नेत्र बिशेषज्ञ डा.विद्याप्रसाद पन्त प्रमुख अतिथी रहेका थिए । 

उक्त उद्दघाटन सत्रमा गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँद, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महता, धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्द, च्यारिटी हेल्थ फाउण्डेसनका कोषाध्यक्ष राधाकुमारी बम लगायतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update