Sagun Khabar
बैतडीका ६ ओटा स्थानीय तहले अनलाइन प्रणालीबाट नागरिकता सिफारिश गर्दै 

बैतडी –बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन थालेका छन् । दश स्थानीय तहमध्ये हालसम्म छ वटाले अनलाइनमार्फत सिफारिस दिन थालेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र पुर्चौंडी नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकता सिफारिश दिन थालेका प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । 

Atrya hospital

कार्यालयका सेवा प्रवाह र सेवाग्राहीहरुरूको सहजताका लागि  प्रविधिमैत्री बनाउने क्रममा नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट दिन शुरु गरिएको प्रजिअ उपाध्यायको भनाइ छ । अनलाइन प्रणालीबाट नागरिकता सिफारिश गर्दा कार्यालय र सेवाग्राही दुवैलाई सहज भएको उनले बताए । 

अनलाइन प्रणाली शुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह भएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । 

अनलाइनबाट सिफारिस दिन थालेपछि सेवाग्राहीलाई आवश्यक कागजात पुगे÷नपुगेको त्यही बेला वडा कार्यालयमै थाहा हुने गरेको उनले बताए । उनले आवश्यक सबै कागजपत्र पुगेपछि मात्रै सेवाग्राही प्रशासन कार्यालयमा जाने अवस्था बनेकाले सेवाग्राहीलाई सहज भएको उनले बताए । 

इन्टरनेट र कर्मचारी अभाव रहेका वडाहरूमा अनलाइन प्रणाली सञ्चालन गर्न ढिलाइ भएको छ । कर्मचारी र जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गरेर चाँडै अरु तहबाट पनि अनलाइनको माध्यमबाटै सिफारिसका लागि सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

अनलाइन प्रणाली शुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update