Sagun Khabar
बैतडीको सिद्धेश्वर माविद्वारा पाठ्यपुस्तक वितरण, विद्यालयमा विद्यार्थी रोक्ने उद्देश्य 

बैतडी–विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरूलाई नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक वितरण गरेको छ । 

जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविले विश्व पुस्तक दिवसका अवसरमा बुधबार विद्यार्थीहरुलाई शैक्षिक सत्र २०८२ का लागि नयाँ पाठ्यपुस्तक गरेको हो ।  शैक्षिक सत्र शुरु भएको दुई हप्ता पुग्नै लाग्दा पनि शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान सञ्चालन हुन सकेको छैन् । सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन नहुँदा विद्यार्थीहरु निजी विद्यालयमा भर्ना हुन थालेपछि पाठ्यपुस्तक वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।

Atrya hospital

शैक्षिक सत्र २०८१ मा सोही विद्यालयमा अध्ययनरत तथा कक्षा उत्तीर्ण भएका बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिएको अध्यक्ष भाटले बताए । शिक्षक महासङ्घको आन्दोलनका कारण लामो समय विद्यालय बन्द हुँदा उक्त विद्यालयमा अध्ययनरत छ जना विद्यार्थी निजी विद्यालयमा भर्ना भइसकेका छन् । 

निजी विद्यालयहरुले गाउँगाउँ पुगेर सरकारी विद्यालयका विद्यार्थीलाई आकर्षित गर्न थालेपछि कार्यालय सहयोगी, निजी शिक्षक, नगर स्वयंसेवक शिक्षक र अभिभावकको सहयोगमा पाठ्यपुस्तक वितरण गरिएको अध्यक्ष भाटले जानकारी दिए । 

यही वैशाख १५ गतेदेखि विद्यालयमा उपलब्ध जनशक्तिबाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारीसमेत भइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी दिए । 

शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानलगायत शैक्षिक गतिविधि प्रभावित बनेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update