Sagun Khabar
कैलालीमा कैदीबन्दीको क्षयरोग परीक्षण 

बैतडी –कैलालीमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण गरिएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजना तथा स्वास्थ्य निर्देशनालय डोटी र स्वास्थ्य कार्यालयको कैलालीको समन्वयमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुको क्षयरोग परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीका क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए । 

Atrya hospital

क्षयरोगका बिरामीहरुको खोजपड्ताल अभियान अन्तर्गत ६ सय ३३ जना कैदीबन्दीको छातीको एक्सरे गरिएको ओझाले बताए । एक्सरे गर्दा क्षयरोगका १३ जना शंकास्पद बिरामीहरुको खकार संकलन गरिएको छ । उनीहरुको खकार परीक्षणपछि मात्रै क्षयरोग भए÷नभएको बारेमा थाहा हुने क्षयकुष्ठ अधिकृत ओझाले बताए । खकार परीक्षणबाट कसैमा क्षयरोग पुष्टि भएमा तत्कालै उपचारको दायरमा ल्याइने उनले बताए । 

नेपाल सरकारले क्षयरोगमुक्त अभियान सञ्चालन गरेकाले सोही अभियान अन्तर्गत केन्द्रका निर्देशक डाक्टर श्रीराम तिवारी नेतृत्वको टोलीले कारागारका कैदीबन्दीहरुको क्षयरोग परीक्षण गरेको हो । नेपालमा क्षयरोगका बिरामीहरु लुकेर रहेकाले यस्ता खालका शिविरले उनीहरुलाई उपचारको दायरमा ल्याउन सहज हुने बताइएको छ । 

सुदूरपश्चिमका ९ ओटा जिल्लामध्ये डोटी बाहेक सबै जिल्लाका कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण गरिएको ओझाले बताए । ७ ओटा जिल्लामा एआइ जडीत डिजिटल एक्सरेमार्फत कैदीबन्दीहरुको क्षयरोग परीक्षण गरिएको हो भने कैलालीमा एक्सरेमार्फत क्षयरोग परीक्षण गरिएको हो । 

कैदीबन्दीहरुको क्षयरोग परीक्षण गर्दा कञ्चनपुरमा ६ जना कैदीबन्दीमा क्षयरोग पुष्टि भएपछि उनीहरुलाई उपचारको दायरमा ल्याइएको छ । कैलालीको रिपोर्ट आउन बाँकी रहेको र अन्य ६ ओटा जिल्लाका कैदीबन्दीहरुमा क्षयरोग नरहेको ओझाले बताए । 

डोटी कारागारका कैदीबन्दीहरुको केही दिनमै क्षयरोग परीक्षण गरिने ओझाले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update