Sagun Khabar
बैतडीको मेलौलीमा सुत्केरी आमालाई ‘उपमेयरको कोसेली’ वितरण शुरु 

बैतडी –बैतडीको मेलौली नगरपालिकामा सुत्केरी आमाहरुलाई ‘उपमेयरको कोसेली’ वितरण शुरु गरिएको छ । 

स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई चना र सरसफाइका सामग्रीसहितको कोसेली वितरण गर्ने कार्य शुरु भएको हो । कोसेलीमा चनाको दाल र सरसफाइका सामग्रीहरु राखिएको मेलौली नगरपालिकाकी उपप्रमुख पार्वत बिष्टले बताइन् । 

Atrya hospital

मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘उपमेयरको कोसेली’ वितरण कार्य शुरु गरिएको र नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट उक्त कोसेली वितरण गरिने सिनियर अहेव अधिकृत राजबहादुर चन्दले बताए । 

कोसेलीमा चनाको दाल, ब्रस, कोलगेट, नेलकटर लगायतका सरसफाइका सामग्री राखिएका उनले बताए । सुत्केरी अवस्थामा अन्य समयको तुलनामा पोषिलो खानेकुरा र सरसफाइ आवश्यक हुने भएकाले सोही सन्देश दिन कोसेली वितरण गर्ने कार्य शुरु गरिएको चन्दले बताए । 

मेलौली नगरपालिकाभरीका २ सय ५० जना सुत्केरी आमाहरुलाई कोसेली वितरण गर्ने लक्ष्य रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहनसिंह भाटले बताए । संस्थागत सुत्केरीको संख्या बढाउने, आमा र शिशुको मृत्यु रोक्ने तथा सुत्केरी अवस्थामा आमाको हेरचाह ध्यान दिने कुराको विकास गराउन उपमेयरको कोसेली वितरण शुरु गरिएको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update