Sagun Khabar
बुढेसकालमा आँखाको ज्योति फर्किएपछिको खुसी 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका –४ की ८० बर्षीय पशुपति ओडको मुहारमा खुसी फर्किएको छ । बुढेसकालमा आँखा नदेख्ने समस्याले थलिएकी उनको आँखाको ज्योति फर्किएपछि उनी निकै खुसी भएकी छन् । उनले भनिन्  ‘उमेर बढ्दै गयो । आँखा नदेख्ने भएकी थिँए । शिवनाथमा चलेको शिविरले मेरो आँखा खोलिदियो । संसार झलमल्ल देख्न पाएकी छु ।’

पशुपतिजस्तै एक सय बढी जेष्ठ नागरिकको आँखाका मोतीबिन्दुको शल्यक्रिया गरेर उनीहरुको समस्या समाधान गरिएको छ । शिवनाथ गाउँपालिकामा यही वैशाख ९ र १० गते आयोजना भएको निशुल्क शिविरमा आँखाको उपचार भएपछि त्यहाँका नागरिक खुसी भएका छन् । 

शिवनाथ गाउँपालिका–३ पुडिलका ७० बर्षीय प्रजापति शर्मालाई पनि आँखा नदेख्ने समस्या थियो । बुढेसकालमा धनगढी गएर उपचार गर्न नसकेका उनी घर नजिकैको शिविरमा आँखा शल्यक्रिया भएपछि निकै खुसी भएका छन् । उनले भने,‘हाम्रै गाउँमा आँखाको शिविर आयो । यहीँ अप्रेशन गरेर आँखा खोलिदिए । धेरै खुसी लागेको छ ।’

Atrya hospital

शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा आँखाको उपचार गर्न पाउँदा निकै खुसी लागेको शिवनाथ –५ की ६६ बर्षीया सीता चन्दले बताइन् । उनले भनिन्‘घर नजिकै आँखाको अप्रेशन गरेर संसार देख्ने भएकी छु । यो भन्दा अरु खुसी के हुन सक्छ ।’

आफ्नै पालिकामा सञ्चालन भएको शिविरमा आँखाको उपचार गर्न पाउँदा सेवा प्राप्त हुनुका साथै आर्थिक भार समेत घटेको स्थानीय अर्जुनसिंह धनाडीले बताए । धनगढी गएर उपचार गराउन आर्थिक अवस्थाले नभ्याएको बेला गाउँमै सञ्चालन भएको शिविरले सहयोग पुगेको उनले बताए । 

उमेर बढ्दै गएपछि धेरै मानिसमा आँखामा मोतीबिन्दु हुने समस्या बल्झिने गरेको बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर विद्याप्रसाद पन्तले बताए । मोतीबिन्दुको शल्यक्रिया गरेमात्रै आँखा देख्न सकिने उनले बताए । 

शिवनाथमा सञ्चालन भएको शिविरमा १ सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । ती मध्ये धेरैजसो जेष्ठ नागरिक रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

गाउँपालिकाबासीहरुले आफ्नै ठाउँमा आँखा उपचार सेवा पाउन भनेर शल्यक्रिया शिविरको आयोजना गरिएको उनले बताए । उनले भने, ‘हामीले गाउँपालिकाबासीहरुको समस्यालाई ध्यानमा राखेर दुई दिने शिविरको आयोजना गरेका हौं । यसले यहाँका नागरिकलाई सहयोग पुगेको छ । अब बर्षमा दुई पटक यस्तो शिविर आयोजना गर्ने सोच बनाएको छु ।’

सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय सरकारहरुसंग मिलेर हरेक बर्ष आँखाको शल्यक्रिया शिविर सञ्चालन गर्ने गरेको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए । यस्ता शिविरहरुले दुर्गमका विपन्न नागरिकलाई सहयोग पुगेको उनले बताए । 

शिवनाथमा सञ्चालन भएको निशुल्क शिविरमा ४ सय ५० जनाको आँखाको जाँच गरिनुका साथै १ सय १५ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ । यस्तै शिविरमा १ सय १३ जनाको आँखाको शल्यक्रिया गरेर उनीहरुको आँखाको ज्योति फर्काइएको छ । 

यसअघि बैतडीको पुर्चौंडी आयोजना गरिएको शिविरमा ९३ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । वैशाख ५, ६ र ७ गते गरेर तीनदिनसम्म सञ्चालन भएको शिविरमा ७ सय १७ जनाको आँखा परीक्षण गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update