
काठमाण्डौं –काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा शिक्षक–शिक्षकबीच नै कुटपिट भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।
शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा आपसी मतभेद भएपछि १५÷२० जना शिक्षकले जोशीलाई कुटपिट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी थिए । जिल्लाबाट समन्वय गरेर ल्याउने क्रममा उनले पैसाको हिसाबकिताब राखेको र त्यसमा मतभेद हुँदा उनीमाथि धकालधुकुल भएको एक शिक्षकले बताए ।
तर, घाइते शिक्षक जोशीको टाउकामा टुटुल्को उठेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनालगत्तै प्रहरीको टोलीले जोशीलाई मीनभवनस्थित सिभिल अस्पताल पु¥याएको थियो ।