
बैतडी–बैतडीको एक सामुदायिक विद्यालयले मातातीर्थ औंसीको अवसरमा जेष्ठ आमाहरुलाई सम्मान गरेको छ ।
पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले आफ्नो सेवा क्षेत्रभित्र रहेका आमाहरुलाई मातातीर्थ औंसीको अवसरमा सम्मान गरेको हो ।
विद्यालयले हरेक बर्ष आमाको मुख हेर्ने औंसीका दिन सम्मान गर्दै आएको र यो बर्ष सेवा क्षेत्रभित्रका ६ जना आमाहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।
विद्यालय २०७३ सालदेखि विद्यालय सेवा क्षेत्रभित्रका जेष्ठ आमाहरुलाई मातातीर्थ औंसीका दिन सम्मान गर्दै आएको उनले बताए । आमाहरुलाई विद्यालयमै बोलाएर उनीहरुलाई टीका फूलमालासहित सम्मान गरिएको अध्यक्ष भाटले बताए ।
जेष्ठ नागरिक प्रतिको सम्मान बढाउन र राम्रो संस्कार विकासका लागि आमाहरुलाई सम्मान गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र भट्टले बताए ।
जेष्ठ आमाहरुलाई सम्मान गर्ने कार्यक्रमबाट बालबालिकाहरुले समेत जेष्ठ नागरिक प्रति गरिने व्यवहारका बिषयमा सिक्ने अपेक्षा गरिएको छ ।
यस्तै विद्यालयले हरेक बर्ष कुशे औंसीका दिन जेष्ठ बुवाहरुलाई समेत सम्मान गर्दै आएको छ । संस्कार गर्ने संस्कृतिको विकासका लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाटले बताए ।