Sagun Khabar
बैतडीको दशरथचन्दमा लैङ्गिक समानताका लागि धार्मिक अगुवाहरुसंग सम्वाद 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले लैङ्गिक समानताका लागि धार्मिक अगुवाहरुसंग सम्वाद गरेको छ । 

नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले नगर क्षेत्रभित्रका धार्मिक अगुवा र बुद्धिजीविहरुसंग सम्वाद कार्यक्रम सम्पन्न गरेको हो । 

Atrya hospital

नगरपालिकाभित्र सञ्चालन हुने हरेक कार्यक्रममा लैङ्गिक समानता कायम गर्नुपर्ने र यसका लागि धार्मिक अगुवाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सम्वाद कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् । 

नेपालको संविधानमा नै समानतामूलक समाजको परिकल्पना गरेकाले स्थानीयस्तरमा लैङ्गिक समानता कायम गर्नका लागि विभिन्न पक्ष एवं सरोकारवालाहरुसंग छलफल गरिएको उनले बताइन् । 

समाजमा हुने लैङ्गिक हिंसाका घटना न्यूनीकरणका लागि धार्मिक अगुवाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुसंगको सम्वाद कार्यक्रम सार्थक हुने नगर प्रमुख पुष्करराज जोशीले विश्वास व्यक्त गरे । उनले भने,‘धार्मिक अगुवाहरुको समाजमा आफ्नै किसिमको महत्व छ । राज्यले परिकल्पना गरेको समानतामूलक समाज निर्माणका लागि उनीहरुसंगको सम्वाद कार्यक्रम उपयोगी र सार्थक हुन्छ ।’

विभिन्न कुरीति र कुप्रथाका कारण समाजमा लैङ्गिक हिंसाका घटनाहरु हुने भएकाले यस्ता कार्यक्रमहरुले ती घटनाहरु न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने नगर उपप्रमुख कौशिला चन्दले बताइन् । समाज सुधारमा धार्मिक अगुवाहरुको महत्वपूर्ण भूमिका रहेकाले उनीहरुसंग सम्वाद कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update