
बैतडी–शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयहरुमा भर्ना अभियान र पठनपाठन बन्द रहेको छ । बैतडीका सबै सामुदायिक विद्यालयहरु बन्दा हुँदा निजी विद्यालयहरुमा भने भर्ना र पठनपाठन कार्य भइरहको छ ।
लामो समयदेखि सामुदायिक विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरु निजी विद्यालयमा भर्ना हुन थालेका छन् । सामुदायिक विद्यालयका विद्यार्थी बाध्य भएर निजी विद्यालयमा भर्ना हुन थालेका सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।
भर्ना अभियान र पठनपाठन सञ्चालन हुन नसक्दा उक्त विद्यालयका ११ जना विद्यार्थी निजी विद्यालयमा भर्ना भइसकेका छन् । भर्ना अभियान र पठनपाठन स्थगित भएपछि विद्यार्थी बाहिर जान थालेका अध्यक्ष भाटले बताए । विद्यालयमा विद्यार्थी रोक्न पाठ्यपुस्तक वितरण गरिए पनि पढाइ सञ्चालन हुने विषयमा अभिभावक र विद्यार्थीलाई आश्वस्त पार्न नसकिएको अध्यक्ष भाटले बताए ।
शिक्षकहरुको आन्दोलनप्रति विद्यालयको समर्थन रहे पनि लामो समयदेखि पठनपाठन बन्द हुँदा अभिभावहरुको गुनासो आउन थालेको अध्यक्ष भाटले बताए । निजी विद्यालयहरुमा धमाधम पढाइ हुँदा सामुदायिक विद्यालयहरु सुनसान रहेका छन् । कतिपय विद्यालयहरुमा पाठ्यपुस्तक समेत लगेका छैनन् ।
बैतडीमा ५६२ ओटा विद्यालयहरु रहेका छन् । ती मध्ये ५३८ ओटा सामुदायिक र २४ ओटा संस्थागत विद्यालयहरु रहेका छन् ।
संस्थागत विद्यालयहरुमा धमाधम पठनपाठन शुरु भएपनि सामुदायिक विद्यालयहरुमा भर्ना अभियान समेत शुरु हुन सकेको छैन् । शिक्षक आन्दोलन लम्बिँदै जाँदा शैक्षिक क्रियाकलापमा असर पर्न थालेको बताइएको छ ।