Sagun Khabar
क्षयरोगमुक्त अभियान : बैतडीका दुई पालिकामा थप १२ जना क्षयरोगका बिरामी फेला 

बैतडी–क्षयरोगमुक्त अभियान सञ्चालन भएका बैतडीका दुई पालिकामा थप १२ जना क्षयरोगका बिरामी फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा थप १२ जना क्षयरोगका बिरामी फेला परेका हुन् । 

ती दुई पालिकामा क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउन खोजपड्ताल शिविरको आयोजना गरिएको थियो । पुर्चौंडी नगरपालिकामा ६ जना र सुर्नया गाउँपालिकामा ६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका बताइएको छ । 

क्षयरोगमुक्त अभियान अन्तर्गत नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ बिरामी फेला परेका पुर्चौंडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए । शिविरमा एआइ जडित डिजिटल एक्सरेमार्फत छातीको एक्सरे गरिएको र शंकास्पद बिरामीहरुको खकार परीक्षण गरेर क्षयरोग भए÷नभएको पत्ता लगाएको जनस्वास्थ्य निरीक्षक अवस्थीले बताए । 

Atrya hospital

शंकास्पद बिरामीहरुको खकार परीक्षण गर्दा थप ६ जनामा क्षयरोग पुष्टि भएको र उनीहरुलाई उपचारको दायरमा ल्याइएको जनस्वास्थ्य निरीक्षक अवस्थीले बताए । यसअघि पुर्चौंडीमा २१ जना क्षयरोगका बिरामी उपचारमा रहेका छन् । 

यस्तै सुर्नया गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ जना क्षयरोगका बिरामी फेला परेका क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द्र जोशीले बताए । नयाँ बिरामीहरुलाई उपचारको दायरमा ल्याइसकेको उनले बताए । 

समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउन खोजपड्ताल शिविरको आयोजना गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

बैतडीमा १ सय २ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका छन् । पुर्चौंडी र सुर्नयामा १२ जना नयाँ बिरामी फेला परेपछि क्षयरोगीको संख्या १ सय १४ जना पुगेको छ । 

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीहरु लक्ष्य अनुसार अझै उपचारमा आएका छैनन् । समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गर्दछ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update