
कैलाली – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक न्याय र समानताका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कैलालीको भजनी पुगेका अध्यक्ष प्रचण्डले दुई जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै यस्तो कुरा बताएका हुन् ।
कैलालीका भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसङ्ख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ । उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
अध्यक्ष प्रचण्डले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षाको सुनिश्चितताप्रति पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
उक्त कार्यक्रममा अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।