
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा अल्लो प्रशोधन तथा कपडा बुनाइ तालिम सञ्चालन भएको छ ।
गाउँपालिकाको वडा नं ७ मा दुई महिने तालिम सञ्चालन गरिएको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख जयराज पाण्डेयले बताए ।
सुर्नया गाउँपालिकाको आयोजना र उद्योग मन्त्रालयको उद्योग प्रवद्र्धन महाशाखाको सहयोगमा तालिम सञ्चालन भइरहेको हो । उक्त तालिममा न्यू भवानी अल्लो एवं बाँस कपडा उद्योग तथा सीप विकास तालिम केन्द्र कैलालीले प्राविधिक सहयोग गरिरहेको पाण्डेयले बताए ।
तालिममा वडा नं ७ का १८ जना महिला र एक जना पुरुष गरेर १९ जनाको सहभागिता रहेको छ ।
स्थानीयस्तरमा पाइने अल्लो प्रशोधन गरी स्थानीयहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उनले भने, ‘हाम्रो क्षेत्रमा प्रशस्त मात्रा अल्लो पाइन्छ । उक्त अल्लोको सदुपयोग गरेर स्थानीयस्तरमा केही रोजगारी सिर्जना होस भनेर तालिमको आयोजना गरेका हौं । तालिमपछि यहाँका नागरिकलाई केही आयआर्जन हुने हामीले अपेक्षा गरेका छौं ।’
तालिमपछि यहाँका जंगलमा पाइने अल्लो प्रशोधन गरेर कपडा बुनाइका लागि सहज हुने बताइएको छ । स्थानीयहरुले तालिम पाएपछि उनीहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने स्थानीय विक्रम कुँवरले बताए ।
तालिममा महिलाहरुको सहभागिता बढी रहेकाले अल्लो प्रशोधन र कपडा बुनाइबाट महिलाहरुले पनि आम्दानी गर्न सक्ने अपेक्षा लिइएको छ ।