बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला बैतडी कांग्रेसले १० ओटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार बसेको जिल्ला कार्य समितिको बैठकले १० ओटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।
जिल्ला कार्यसमितिका पदाधिकारी, पूर्व केन्द्रिय सदस्य, पूर्व पदाधिकारी, पूर्व सभापति समेत सहभागी भएको बैठकले कांग्रेसको संगठनलाई बलियो बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । सोही निर्णय अनुसार भोली दोगडाकेदार गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ भने भदौ १० गते सुर्नया गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।
यसैगरी भदौ ११ गते पञ्चेश्वर, भदौ १२ गते मेलौली नगरपालिका र शिवनाथ, भदौ १३ गते दशरथचन्द नगरपालिका, भदौ १५ गते पुर्चौंडी नगरपालिका र भदौ १६ गते पाटन नगरपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । डिलाशैनी र सिगासको हकमा प्रशिक्षणको मिति पछि तोकिने कोषाध्यक्ष पाण्डेयले बताए ।
यस्तै पार्टीका जिल्लामा रहेका क्रियाशील सदस्यहरुको सदस्यता अनुमोदन गर्ने निर्णय समेत बैठकले गरेको छ । यसैगरी पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टी पदाधिकारीहरुलाई भदौ १५ गतेभित्र लेबी बुझाउन आग्रह गरिएको र लेबी नबुझाएमा पार्टीको महाधिवेशनमा भाग लिन नदिने निर्णय समेत भएको कोषाध्यक्ष पाण्डेयले जानकारी दिए ।
नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य विनयध्वज चन्द प्रमुख अतिथी रहेका थिए ।